काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
वन्यजन्तु संरक्षण सङ्घ नेपालले आयोजना गरेको ‘नेपालमा चक्रीय अर्थतन्त्र तथा दिगो भविष्यतर्फ रूपान्तरण’ नामक सम्मेलनको उद्घाटन गर्दै मन्त्री शाहीले जलवायुजन्य सङ्कट सामना गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।
उनले जलवायु परिवर्तनका कारण बाढीपहिरो, डुबान, हिमपहिरो, हिमताल विस्फोट, हिउँ पग्लने, पानीको मुहान सुक्ने, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याले विश्वकै अर्थतन्त्रमा असर गर्ने भएकाले जलवायुजन्य असर न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए ।
दिगो विकासको लक्ष्य प्राप्तिका लागि पनि संरक्षणमा काम गर्ने सबै दातृ निकायको सहयोग आवश्यक रहेको भन्दै अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा खडा भएको उल्लेख गरे ।
केही दिनअघि बाकुको अजरबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिस) का पक्ष राष्ट्रहरुको २९ औँ शिखर सम्मेलन (कोप २९) पनि जलवायु परिवर्तनले पुर्याएको असर र समाधानका लागि नेपालले पैरवी गरेर आएको मन्त्री शाहीले बताए ।
आजदेखि सुरु भएको सम्मेलन भोलि सकिने छ ।