काठमाडौँ । अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खला मार्फत पर्दामा फर्किएका छन् ।
कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।
चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि चलचित्रमा पुनरागमन गर्न सफल भए ।
एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ चलचित्रमा अभिनय गरिन् ।
विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेपछि उनी चलचित्रबाट टाढा थिइन्। उनको आगमनसँगै सुरु भएको पुराना अभिनेत्रीहरूको चलचित्रमा पुनरागमनले निरन्तरता पाइरहेको छ ।
गत कात्तिक ३० गतेदेखि प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा ठूलो पर्दामा फर्किएकी छिन् । उनले केही समय अगाडिको योजना भए तापनि अवस्था अनुकूल भएपछि चलचित्रमा काम गर्ने हौसला प्राप्त भएको बताइन् ।
गत मङ्सिर ७ गतदेखि प्रदर्शनमा रहेको चलचित्र ‘तेल भिसा’ मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहेकी छिन् । अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकालाई उनले न्याय गरेको प्रतिक्रिया दर्शक र चलचित्रकर्मीले दिएका छन् ।
यही चलचित्रमार्फत विदेशमा बस्दै आएकी अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किएकी छन् ।
अभिनेत्री घिमिरे झैँ पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै छिन् ।