काठमाडौँ । थुनामा रहेका चर्चित विवादित व्यवसायी दुर्गा प्रसाईंको रिट अदालतले खारेज गरिदिएको छ ।
उनले थुनामुक्त हुन पाउँ भनि अदालतमा रिट दायर गरेका थिए । तर, उनको रिटलाई सर्वोच्च अदालतले बुधबार खारेज गरिदिएको हो ।
प्रसाईंको विगत निकै शंकास्पद भएकोले हरेक कोणबाट अनुसन्धान गर्न प्रहरीले थुनामा राख्न अदालतसँग अनुमति मागेको थियो ।
अदालतको अनुमति अनुसार, प्रसाईंका विगतदेखि वर्तमानसम्मको अनुसन्धान प्रहरीले गरिरहेको छ । रिट खारेज भएसँगै अनुसन्धान लम्बिए प्रसाईंलाई पुर्पक्षका लागि जेल चलान गरेर सुक्ष्म अध्ययन गर्न प्रहरीलाई बाटो खुलेको छ ।
सम्पति शुद्धिकरणदेखि संगठित अपराध, साइबर अपराधदेखि नक्कली कागजात सामग्री बनाउनेसम्मका अभियोगमा उनलाई अनुसन्धान भइरहेको छ ।
यही आधारमा पुर्पक्षका लागि प्रसाईंलाई जेल चलान गर्न पनि सकिने प्रहरी स्रोतले जनायो ।
उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेर बुवा दुर्गालाई मुक्त गर्ने गरेको प्रयासलाई अदालतले रोकिदिएपछि प्रहरीलाई अनुसन्धानमा सहज भएको हो ।
न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।
निराजनले गृहमन्त्रालय समेतलाई विपक्षी बनाएर दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि यही मंसिर ४ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते, गैरकानुनी सम्पति आर्जन (कालोधन) लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।
यो बाहेक बरामद गरिएका उनका मोबाइल र ल्यापटपमा इन्डियन धार्मिक संघ संगठनले उनको गतिविधिमा सघाउ (फण्डिङ) पुग्ने विवरणहरु शंकास्पद रुपमा देखिएकोले सोही विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रसाईंले भक्तपूर लगायत विभिन्न स्थानमा घरजग्गा जोडेका छन् । उनी झापाका स्थायी बासिन्दा हुन् ।
थुनामा पर्नुअघि कमजोर वर्गलाई उचालेर उनले अराजकता मच्याउँदै आएका थिए । यसअघि उनी गत असोजमा पनि पक्राउ परिसकेका थिए ।
तर, विभिन्न बहाना देखाएर प्रसाईं थुनामुक्त भएका थिए ।
यसपालि भने हामीले हरेक कोणबाट प्रसाईंको अनुसन्धान थालेका छौँ, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले राष्ट्रिय समाचार डटकमसँग भने,‘हालसम्मको प्रारम्भिक अनुसन्धानमा उनले बोलेका र भेटिएका तथ्यहरुमा कुनै मेल खाँदैन ।’ यसैले उनका भित्री पक्षहरु निकै आशंकाजन्य भएकोले सोही आधारमा अनुसन्धान भइरहेको उनले बताए ।
प्रसाईंले थुनामा रहेका समयमा बाहिर कमजोर नागरिकलाई भड्काउन चिठी पठाएर सामाजिक संजालमा पोष्ट गर्न लगाउँथे ।
तीन दिनअघिदेखि भने प्रसाईंको यो हर्कतलाई प्रहरीले निषेध गरेको छ । भड्कावजन्य लेखनको कागज प्रसाईंले भेट्न आउने उनका समर्थकलाई दिएपछि बुधबार नै एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।