काठमाडौँ । प्रहरीले रवि लामिछानेलाई आज बिहीबार साँझ पोखरादेखि काठमाडौँ ल्याएको छ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम ठगी र अपचलन गरेको आरोपमा वयानका लागि उनलाई यहाँ ल्याइएको हो ।
लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकीलको कार्यालयमा बयानका लागि ल्याइएको हो ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न उनलाई साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो ।
उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
लामिछानेलाई पछिल्लोपटक ९ मंसिरमा १५ दिन म्याद थप भएको छ ।
लामिछानेसँगै पुर्व डिआइजी तथा गोर्खा मिडिया नेटवर्कका संचालक छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरू पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरूलाई छ ।
जिल्ला अदालत चितवनले ७ मंसिरमा रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसअघि काठमाडौंबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा एक साथ अनुसन्धान गरिरहेको प्रहरीले काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने सहितका व्यक्तिले रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरेको थियो ।
यही मंसिर २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका थिए । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट लामिछानेले रकम ठगी गरेको प्रमाण प्रहरीले जुटाइसकेको छ ।
लामिछाने गोर्खा मिडिया नेटवर्कका प्रवन्धक निर्देशक थिए । पछि राजनीतिक दल खोले । हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने दुई पटक गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका व्यक्ति पनि हुन् ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो ।
यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । जीबी राई तिनै व्यक्ति हुन् जो गोर्खा मिडिया नेटवर्कका अध्यक्ष थिए । लामिछाने प्रवन्ध निर्देशक हुन् ।
यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमा भएको रकम अपचलनको प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न १६ वटा कम्पनीहरूमा रकम लगेर अपचलन गरेको भेटिएको छ ।
अवैधानिक रुपमा १६ वटा कम्पनीहरूमा रकम लगेर अपलचन गरेको पाइएपछि प्रारम्भिक चरणमा २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी गरिएको छ ।
पक्राउ पुर्जी जारी हुनेहरूमा जीबी राई समेतका व्यक्ति छन् । रेड नोटिस जारी भएका उनी अहिलेसम्म फरार छन् ।
उपाध्यक्ष देवेन्द्रबाबु राई, सचिव इरान लामा, सहसचिव कविता तामाङ, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारी, रविना रिमाल विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
त्यसैगरी कर्जा उपसमितिका पूर्वसदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मिरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
पूर्वअध्यक्ष दीपक लामा, सचिव प्रदिप लामा, कोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, लेखा समिति संयोजक गणेशराज श्रेष्ठ, लेखा समिति सदस्यद्वय सुनिता नेवा, शान्तिकुमारी सुवेदीलगायत २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रवि लामिछानेको नाममा गाडी किन्न भन्दै दुईपटक ४६ लाख ८८ हजार रुपैयाँका दरले यही सहकारीबाट रकम गएको कागजात भेटिएका छन् ।
त्यसपछि चितवन
लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले गत शुक्रबार (मंसिर ८) प्रहरीलाई अनुमति दिएको हो ।
साहारा चितवन सहकारीका २४ बचतकर्ताले चितवन–२ का सांसदसमेत रहेका लामिछाने लगायत विरुद्ध अघिल्लो बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए ।
चितवन प्रहरीका अनुसार लामिछाने र जोशीसँगै जीबी ग्रुप अफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपक लामा, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालक भगवती बम्जन र नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक कविता तामाङ र रामबहादुर खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ती कम्पनीमा साहारा चितवनबाट नियमविपरीत रकम गएको छ ।
बचतकर्ताले साहारा चितवनबाट १० करोड ८० लाख रुपैयाँ नियमविपरीत गोर्खा मिडियामा गएको जाहेरीमा उल्लेख गरेका छन् ।
साहारा चितवनका बचतकर्ताले गत वर्ष असोजमा दिएको जाहेरीका आधारमा प्रहरीले अन्य १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइसकेको छ ।
अदालतमा दायर अभियोगपत्रमा सहकारीमा ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ भराउनुपर्ने देखिएको उल्लेख थियो ।
उक्त मुद्दा दायर गर्ने क्रममा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले साहारा चितवनबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँको कारोबारबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ बचत जम्मा भएको चितवन प्रहरीको अनुसन्धानले देखाएको थियो । साहारा चितवन सहकारीमा ६ हजार ३ सय ३४ बचतकर्ता छन् ।
अनि वीरगंज
वीरगन्ज महानगरपालिकाको आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट पनि गोर्खा मिडिया नेटवर्क प्रालिमा साढे ८ करोड रुपैयाँ लगेर अपचलन गरेको पाइएको छ ।
सानो पाइलाबाट गैरकानुनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।
सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो ।
२०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो ।
अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए ।
संसदीय छानबिन समितिले प्रतिवेदनमा सानो पाइला सहकारीबाट पनि गोर्खा मिडियामा रकम सारिएको उल्लेख गरेपछि बचतकर्ताले प्रहरीलाई थप अनुसन्धान गर्न अनुरोध गरेका छन् ।
सानो पाइला सहकारीको बचत हिनामिनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनायो ।
एक वर्षअगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए ।
त्यतिबेला प्रहरीले पर्याप्त अनुसन्धानै नगरी हतारमा मुद्दा अघि बढाएको बचतकर्ताको गुनासो छ ।
प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार छन् ।
कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।
प्रहरी धमाधम प्रमाण संकलन गर्दै
पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रवि लामिछानेको नामबाट रकम झिकिएको प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ ।
यही आधारमा पछिल्लो पटक लामिछानेलाई १५ दिन थुनाको म्याद थपिएको छ ।
उता, बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा साढे १६ करोड रकम गोर्खा मिडियामा गएको प्रमाण प्रहरीले फेला पारिसकेको छ ।
धेरैलाई थाहा नहुन सक्छ, लामिछानेलाई यति धेरै अनुसन्धान अबधि किन ?
अहिले रवि लामिछानेलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धिकरण साथसाथै सरकारी काजगपत्र किर्तेमा अनुसन्धान गरिरहेको छ ।
यी तीनैवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई पर्याप्त समय कानुनले उपलब्ध गराएको छ । संगठित अपराधमा ६० दिन, सम्पति शुद्धिकरणमा न्यूनतम ९० दिन र आवस्यक परे पुुर्पक्षका लागि जेल चलान गरेर मुद्दा चलाउन पाउने अधिकार प्रहरीलाई रहेको छ ।
पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिले पुर्पक्षका लागि १९ महिना (०८० बैशाख) देखि जेलमा छन् । उनको मुद्दा अझै अनुसन्धानमै छ ।
लामिछानेको हकमा पाँचवटा जिल्लामा एकसाथ मुद्दा पर्नु, हरेक मुद्दाहरुका प्रमाण फेला पर्दै जानु र सोही बमोजिम थप अनुसन्धान गर्नुपर्ने भएकोले यो शिलशिला निकै लामो हुन सक्ने अनुसन्धान अधिकारीहरु बताउँछन् ।
लामिछानेको कागज किर्तेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न सहकारी मार्फत गोर्खा मिडियामा रकम गएको सन्दर्भमा उनका हस्ताक्षर र कागजपत्रका आधारमा प्रहरीले एकपछि अर्को प्रमाण जुटाउँदै गएको छ ।
सहकारी ठगीमा सहकारी ऐन २०७४ अन्तर्गत अधिकतम ८ वर्ष, संगठित अपराधमा ९ वर्ष (५० प्रतिशत थपिनेगरि) र सरकारी कागज किर्तेमा सात वर्ष जेल सजाय हुने कानुनी प्रावधान रहेको छ ।
प्रहरी स्रोतका अनुसार, लामिछानेसँग जोडिएका दर्जनौं प्रमाणहरु फेला परिसकेका छन् । यी प्रमाण अदालतमा पेस गरिनेछ ।
लामिछानेले सहकारीको व्याज तिर्न चेक काटेका, सहकारीको ऋण तिरेका आदि प्रमाणहरु बाहिर आइसकेका छन् ।
सहकारीको रकम गोर्खा मिडियामा आएको आँफूलाई थाहै नभएको भन्दै आएका रविले यी सबै प्रमाणका जवाफ अदालतमा दिनुपर्ने हुन्छ ।
कानुन विपरित भएका यी सबै प्रमाणहरु जीबी राई जति कै रवि लामिछाने भागिदार देखिएका प्रहरीले जनाएको छ ।
बाहिर चर्चामा आए जस्तो प्रमाणविना लामिछानेलाई थुना अबधि बढाइएको नभई प्रशस्त प्रमाण जुटाएर अदालतमा मुद्दा लान प्रहरी बलियो बनेर अघि बढिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।
अहिले प्रमाणहरु सार्वजनिक गर्न मिल्दैन । जब अदालत मुद्दा जानेछ, यी सबै प्रमाणहरु त्यही पेश हुनेछन्, ती प्रहरी अधिकारीले भने,बाहिर चर्चामा रहेको भन्दा सयौैं गुना बढी प्रमाणहरु फेला पारेका छौँ ।’
उता, जता जता रविलाई अनुसन्धान र वयानका लागि लगिन्छ त्यता त्यता रास्वपाका समर्थक पुगिहाल्छन् ।
अहिले साँझ पनि त्रिभुवन विमानस्थलमा रास्वपा कार्यकर्ता र समर्थकको भीड थियो । भीडका कारण विमानस्थलको वातावरण होहल्लामा परिणत भएको थियो ।