काठमाडौँ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने चढ्ने गाडीसमेत स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबाट खरिद गरिएको पुष्टि भएको छ ।
सवा दुई करोडको ‘टोयोटा फर्च्युनर’ गाडी किन्नेसहित विभिन्न प्रयोजनका लागि स्वर्णलक्ष्मीबाट निकालिएको ऋण भुक्तान गर्न लामिछाने आफैंले काटेका चेक पनि भेटिएका छन् ।
२०७७ फागुन ११ मा ग्यालेक्सी टीभीको घोषणासँगै लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक बनेका थिए भने १५ महिनापछि २०७९ असार १ मा कम्पनीबाट अलग भएका थिए ।
योबीचमा गाडी खरिदलगायतका शीर्षकमा जीबी राई र लामिछाने दुई जनाको व्यक्तिगत तथा गोर्खा मिडिया प्रालिका नाममा स्वर्णलक्ष्मीबाट विभिन्न मितिमा ठूलो रकम निकालिएको थियो ।
कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले १५ वटा चेक काटेर ८९ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेका थिए । त्यस्तै कम्पनीका अध्यक्ष राईले भने चार लाखको एउटा चेक काटेका थिए ।
यसरी गोर्खा मिडियाले १६ वटा चेकबाट स्वर्णलक्ष्मी सहकारीलाई ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेको छ ।
सहकारी र कम्पनीबीचको गैरकानुनी कारोबारबारे कुनै जानकारी नभएको दाबी गर्दै सार्वभौम संसद् र आफ्नै मतदातालाई पनि ढाट्दै आएका लामिछानेले सहकारीकै बचत अपचलन गरेर गाडी चढेको र त्यसको भुक्तान कम्पनीबाट गरेको प्रमाण भेटिएपछि उनलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको छ । यसअघि कात्तिक २७ मा उनलाई भैरहवा पनि लगिएको थियो ।
काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा समेत शाखा खोलेर सञ्चालन भएको स्वर्णलक्ष्मी सहकारीले ६ हजार ६ सय ६९ सर्वसाधारणबाट २ अर्ब ६५ करोड ९५ लाख बचत संकलन गरेको थियो ।
त्यसमध्ये १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको भन्दै ६ सय ४५ बचतकर्ताले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपि लामिछाने गृहमन्त्री भएका बेला भने अनुसन्धानमा अवरोध गरिएको थियो । त्यसैले छानबिन गर्न संसदीय समितिसमेत गठन भएको थियो ।
२०७७ माघमा वीरगन्ज भन्सारबाट भित्रिएको २७५५ सीसीको टोयोटा फर्च्युनर २०७८ असार १३ मा जीबी ग्रुप अफ कम्पनीजका नाममा खरिद गरिएको थियो । त्यसको तीन महिनापछि असोज ६ मा त्यही गाडी गोर्खा मिडिया नेटवर्कका नाममा सारिएको थियो ।
यी दुई मितिका बीचमा साउन ५ मा जीबी राई र रवि लामिछानेका नाममा ‘चारपांग्रे कर्जा’ शीर्षकमा ऋण खडा गरी स्वर्णलक्ष्मी सहकारीबाट रकम निकालिएको थियो । गाडी किन् नु अघि र पछि विभिन्न मितिमा रकम लगिए पनि विधिवत कागजी प्रक्रिया पूरा गरिएको थिएन ।
तर किस्ता तिर्न लामिछाने स्वयंले काटेका चेकबाट उक्त कारोबार पुष्टि भएको छ । कम्पनीले सहकारीलाई तिर्न बाँकी रकमको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उता सूर्यदर्शन सहकारीको बचत अपचलनमा कास्की प्रहरीले अनुसन्धान थालेपछि गोर्खा मिडियाको उक्त गाडी बिक्री भएको पाइएको छ । टोयोटा फर्च्युनर २०८० असोज १२ मा सिन्धुपाल्चोक मेलम्चीका पाण्डे थरका व्यक्तिका नाममा सारिएको छ ।
त्यसको ६ दिनपछि असोज १८ मा सूर्यदर्शन सहकारी ठगीमा १८ जनाविरुद्ध कास्की जिल्ला अदालतमा १ अर्ब ११ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो ।
त्यसपछि जीबी राई फरार रहेकामा प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरेको छ भने लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।
स्वर्णलक्ष्मीसहित पाँच सहकारीको ६७ करोड ७६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा ल्याएर राई र लामिछानेसहितले अपचलन गरेको तथ्य प्रहरीले प्राप्त गरिसकेको छ ।
यहीबीच लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगीमा बयान गर्न लगेको थियो । त्यसपछि दुवै जनालाई कास्की ल्याइएकामा जोशीलाई प्रहरीले काठमाडौं ल्याएर बयान लिइसकेको छ ।
(आजको कान्तिपुर दैनिक) । पत्रिकाको अनलाइन संस्करणबाट लिइएको समाचार लिंक यहाँ उपलब्ध छ ।)सहकारीकै बचतबाट लामिछानेलाई सवा दुई करोडको टोयोटा फर्च्युनर