काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ ।
महाबुमा एमाले
दैलेखः दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
गढी- ६ मा काँग्रेस
इनरुवाः सुनसरीको गढी गाउँपालिका- ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरे भने नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिए।
डाक्नेश्वरी १ र ४ मा जसपा
सप्तरीः सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।
डाक्नेश्वरी- १ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
सुर्मा- ४ मा काँग्रेस
बझाङः सुर्मा गाउँपालिका- ४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन्।
उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।