काठमाडौँ । स्थानीय उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयर पदको चुनावमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ ।
५ हजार ३३४ भोट ल्याएर नेपाली कांग्रेसका कृष्ण मान डंगोलले विजय हासिल गरेका छन् ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर ४ हजार ३३७ मतका साथ तेस्रो स्थानमा रहेका हुन् ।
कीर्तिपुरमा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जन दोस्रो भए । उनले ४ हजार ५५५ मत प्राप्त गरेका हुन् ।
यहाँ माओवादीलाई रास्वपा र एकीकृत समाजवादीले अघोषित समर्थन गरेको थियो । महर्जन कांग्रेसका उम्मेदवार डंगोलसँग ७७९ मतले पराजित भएका हुन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारी दिएसँगै चर्चामा आएका सफाइ अभियन्ता राजमान महर्जनले २ हजार ३६ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले १ हजार ३१४ मत, दिनेश कुमार अधिकारीले १ हजार ४८ मत, राप्रपाका ध्रुव महर्जनले ९९५ मत पाए ।
राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको हो ।
पहिले ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।
त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।
माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।