काठमाडौँ । काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् ।
जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईंले जाडोमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) का समस्या बढी देखिने बताए ।
चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ । जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमा भन्दा बढी चाहिने उनले बताए । यसले साधारण रोग पचाउन सहयोग गर्ने उनको भनाइ छ। साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने उनको सुझाव छ ।
खोप लगाएका बच्चालाई अरुलाई भन्दा कम रोग लाग्छ । दादुराको खोप लगाएका बच्चालाई निमोनियाको जोखिम कम हुने डा चापागाईंले बताए ।
रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले निरन्तर रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्नेमा जोड दिएका छन् ।
उनले जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म नलगाउन आग्रह गरे ।
त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउने लागयतका काम गर्नुपर्ने बताइन् ।
रुघाखोकीसँगै सास फेर्न गाह्रो भएमा, कोखा हानेमा, धेरै ज्वरो आएमा, बच्चाले खाना कम गरेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बालरोग विशेषज्ञहरूको सुझाव रहेको छ ।