काठमाडौँ । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् ।
सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।
गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन भने शर्माले प्रेस चौतारी सहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरी सहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाईँ चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।
उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । पौडेल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन् ।
त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन् भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमा भित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।