काठमाडौँ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२ औँ संस्करण राजधानीमा हुँदै छ ।
‘सामाजिक न्याय’ नाराका साथ सुरु हुन लागेको महोत्सव देखि २७ गतेसम्म जारी रहने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ ।
चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताए।
मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिँदै आएको उनले बताए। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्रहरू प्रदर्शन हुनेछन् । चार दिनमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुने आयोजक समितिले जनाएको छ ।
महोत्सवको प्रिमियर चलचित्रका रुपमा ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’ प्रदर्शन हुनेछ । यो छोटो चलचित्रले कान्सको लुघ विधामा अवार्ड जितेको थियो । त्यस्तै ‘अल वि इम्याजिन एज लाइट’ यही मङ्सिर २५ गते प्रदर्शन हुनेछ । यो फिल्मले कान्समा फिचर विधामा अवार्ड जितेको थियो ।
सुविना श्रेष्ठको निर्देशनमा बनेको ‘देवी’ यही मङ्सिर २६ गते प्रदर्शन हुने आयोजकले जनाएको छ । बर्लिन अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितेको ‘एन अड टर्न’ २६ मंसिर मा प्रदर्शन हुनेछ ।
महोत्सव आयोजनाको अवसर पारेर वृत्तचित्रका ‘मेन्टर’ तथा सम्पादक निलोतपल मजुम्दरले चार दिने कार्यशालाको प्रशिक्षण दिने जनाइएको छ । कार्यशालामा नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका फिल्ममेकर सहभागी हुनेछन् ।
महोत्सवका दौरानमा विभिन्न समूहगत छलफल र फोटो प्रदर्शनी लगायत हुने आयोजकले जनाएको छ ।