‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’
२०८१ मंसिर २४ गते सोमबार प्रचण्डले यी भनाई सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेका थिए ।
त्यसको भोलिपल्ट मंगलबार नै प्रचण्डले चितवन पुगेर उनको पार्टीले आयोजना गरेको खबरदारी सभामा ‘सरकार किन रवि लामिछानेमाथि तर्सिएको’सन्देश दिए । प्रचण्डले सभामा भनेका थिए,‘रवि जीलाई हाजिरी जमानीमा छोडे भइहाल्यो नि, भागेर कतै जाने होइन ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गजबको राजनीति खेल खेल्न सिपालू छन् । उनका अतित फर्केर हेर्ने र सम्झिने हो भने हरेक चेतनशील नागरिकलाई सोच्न बाध्य बनाउँछ ।
विद्रोह राजनीतिको जगबाट उभिएका प्रचण्ड सेकेण्डभरमै रुप बदल्न सिपालू छन् । अहिले नेपाली समाजको मनोविज्ञान पढेर बसेका प्रचण्ड उथलपुथलको पर्याय बनेर जीवित रहिरहे ।
सामाजिक संजालले अहिले प्रचण्डलाई कथित नयाँ देखिरहेको छ । मानौं उनी यति धेरै नयाँ राजनीतिक शक्ति हुन् कि उनी पुरै सुकिला छन् । यस्तो भाष्य बोकेर प्रचण्डलाई सामाजिक संजालले ‘आहा’ देखेको छ ।
प्रचण्डले पुरै देश ‘स्वाहा’ पार्दा सडकमा उफ्रेको यो पुस्ता कि जन्मँदै थियो, कि हुर्कंदै थियो । तर, बुझ्ने उमेरमा थिएन ।
त्यसपछिका यी १८ वर्ष करीब करीब प्रचण्डकै पार्टीले सत्ताको बागडोर आफ्नो हातमा लिइरह्यो । यो अबधिमा उनी आँफै तीन पटक (०६५,०७३,०७९) प्रधानमन्त्री भए ।
खुल्ला राजनीतिमा आएपछि प्रचण्ड सत्ता बाहिर बस्ने धैर्यता गुमाउँदै गए । सधैं छट्पटिन्थे । सत्तामा हुँदा प्रचण्डले देश पुरै ठीक देख्थे, सत्ता छोड्दा पुरै वेठीक ।
प्रचण्डको यो लम्पट देखेर उनका सहकर्मी बाबुराम भट्टराईले त यति बिघ्न गालि गरेकी ती शब्दहरुको फेहरिस्त अहिलेसम्म कसैले गरेको छैन । ती वास्तविक गालि पढ्न यहाँ जानुस । प्रचण्ड पतनको पराकाष्ठा
प्रचण्ड अरुलाई उपयोग गर्न कुशल खेलाडी हुन् । त्यसको बलमा सानदार जीवनयापन गर्न जान्ने चतुर व्यक्ति हुन् । त्यसैलाई उपयोग गरेर शक्ति प्राप्त गर्न जानेका गजबको टेक्निक उनीसँग छ ।
०६३ साल यता विभिन्न फेरबदल सरकारमा माओवादी १४ पटक सरकारमा छ । अर्थात एउटा सिंगो डेढ दशकबढी प्रचण्डले सत्ता कब्जा गरेका छन् । दुई ठुला दल (कांग्रेस–एमाले) पहिलो पटक मिलेपछि मात्र उनी पूर्णरुपले सत्ता बाहिर रहे ।
२०८१ साल असार ३० गतेसम्म पछिल्लो (१७ महिना )प्रधानमन्त्री पदमा रहेका प्रचण्ड कार्यकालमा देशको ढुकुटी यति कमजोर थियोकि सरकारी कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था सृजना भयो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, अनुदान र ऋण करीब करीब शुन्यमा पुग्यो । ०८१ बैशाखमा गरिएको लगानी सम्मेलनमा कुनै दातृ निकायले नेपाललाई पत्याएन । दातृ राष्ट्रहरुले प्रचण्डलाई उपहास गर्थे । स्वंय चीन पनि आफ्ना नेता (माओ) को नाममा पार्टी खोलेकोमा प्रचण्डसँग चित्त बुझाएको थिएन ।
प्रचण्ड जता गए, उताबाट रित्तो हात फर्किन्थे । नरेन्द्र मोदीले गेरु बस्त्र लगाएर डुलाइदिए । अनि मुर्रा दिएर पठाए ।
अमेरिकन प्रोजेक्टहरुको प्रमुखले शेरबहादुर देउवासँग डिल गर्थे । प्रचण्ड सरकारप्रति कुनै पनि देशहरु विस्वस्त हुन सकिरहेका थिएनन् । कांग्रेससँगको गठबन्धनले मात्र उनी अडिएका थिए ।
प्रचण्डको वेचैनी
कुरो हो, २०८० फागुन २१ गतेको । प्रमुख अतिथि थिए, प्रचण्ड । विषय थियो, शान्ति प्रक्रिया र आजको लोकतान्त्रिक गणतन्त्र । उनले सम्बोधनका क्रममा भनेका थिए,‘म नमरुन्जेल उथलपुथल भइरहन्छ, शान्तिका कुरा छोडौं ।’
उनी प्रधानमन्त्री पदमा थिए र पनि उत्पात मच्चाउन भाँडभैलो खेल्न उस्तै खप्पिस । अहिले त झन सत्ता बाहिर रहेको पीडा ।
अर्को प्रसंग छ, काठमाडौँ मेयर बालेन शाह पक्राउ गर्ने योजना । कुरो हो ०८० साल भदौको । प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाए । सबै शिर्ष नेताहरु बालुवाटार पुगेका थिए ।
बैठकमा प्रधानसेनापति, प्रहरी प्रमुख र उपत्यकाका सबै प्रमुख जिल्ला अधिकारीहरु सहभागी थिए ।
प्रचण्डले बैठकको सुरुमै भने,‘बालेन शाह उग्र भयो, मैले पक्राउको तयारी गरेको छु, तपाईहरुले समर्थन गर्नुपर्यो ।’
निकै कम बोल्ने देउवा हत्तपत्त बोल्दै भनेका थिए,‘हुँदैन, बोल्दैमा पक्राउ गर्न हुँदैन, कहाँ लगायो त आगो ?’
यो विषय करीब ६ महिनापछि एउटा टेलिभिजन कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले सार्वजनिक गरेका थिए ।
राउत उक्त बैठकमा सहभागी मध्ये एक हुन् । यदि त्यो बेला देउवाले अडान नलिएको भए बालेन पक्राउ पर्थे ।
बालेनलाई पक्राउ गर्न प्रचण्ड र नारायणकाजी श्रेष्ठले निकै प्रयास गरेका थिए । तर, आज यी दुबै नेता नयाँ शक्तिहरुको नक्कली सारथि बनिरहेका छन् ।
सत्ता बाहिर हुँदा रुप परिवर्तन गर्नेमा प्रचण्ड र नारायणकाजी गजबका नेतामा पर्छन् । यसको फेहरिस्त कुनै अर्को लेखमा उल्लेख गरौंला ।
पदबाट हटेपछि कुनै एकदिन प्रचण्डले चैन महसुस गरेका छैनन् । सत्तामा हुँदा प्रचण्डले नयाँहरुलाई तिरस्कार गर्थे । भेट्न पनि दिंदैनथे ।
प्रधानमन्त्री हुँदा कयौं पटक रवि लामिछानेलाई उनले भेट दिएनन् । रास्वपा दोस्रो पटक सरकारमा जान खोजिरहेको थियो । तर, प्रचण्ड रविलाई तर्काउँथे ।
नेपाली कांग्रेसको बलियो साथ पाएका प्रचण्डले दोस्रो पटक रास्वपालाई सरकारमा सहभागी गराउन चाहेका थिएनन् ।
रवि भने बालकोट धाइरहेका हुन्थे । एमाले अध्यक्ष केपी ओली रविलाई लिएर बालुवाटार जान्थे । भन्थे,‘मुद्दा विचाराधीन भएपनि रविजीलाई सरकारमा लानुस ।’
त्यतिबेला रवि लामिछानेको नागरिकता र पासपोर्ट मुद्दा विचारधीन थियो । पासपोर्टको मुद्दा भने अझै छ ।
‘अहिले कमजोर वर्गमा एउटा भ्रम छ । प्रचण्डले रविलाई साथ दिए ।’ उनको यो च्याँखे दाउ हो भन्ने कसैले भेउ पाएका छैनन् । नयाँहरुलाई नरुचाउने प्रचण्डको बानी हो । चाहे बालेन होस वा रवि ।
प्रचण्डको साथमा धेरैबेर कुनै व्यक्ति टिक्दैनन् । युद्धका सारथी अहिले करीब करीब उनको साथमा छैनन् । छिर्के दाउबाट राजनीति गर्न माहिर अर्धभुमिगत नारायणकाजीको अंकुश सहँदै पार्टी थेगिरहेका छन् ।
प्रचण्डको चतुर्याँई कतिसम्म छ भने उनी अरुलाई भ्रष्ट भन्छन्, तर आँफू त्यही दलदलमा कति जाकिएका छन् भन्ने जान्न अलिकति अतितमा फर्कनुपर्छ ।
शान्ति प्रक्रियाबाट बाहिरी राजनीतिमा आएका उनी समयक्रममा शारदाप्रसाद अधिकारीको घरमा बसेका थिए । शारदाप्रसाद ठेक्कापट्टा गर्छन् । यी तिनै ठेकेदार हुन्, जस्ले आजसम्म कुनै आयोजना गतिलोसँग सम्पन्न गरेका छैनन् ।
प्रचण्डले शारदाप्रसादलाई अघोषित रुपमा जोगाउन थाले । यी दुईजनाबीच लेनदेन आदि भएकोले कुनै आयोजनाहरु समयमै सम्पन्न नभएका विवरणहरु बाहिर आएका थिए ।
शैलुङ कन्ट्रक्सन कम्पनी पप्पू जति नै बदनाम ठेकेदार कम्पनी हो । प्रचण्ड र ठेकेदारको कनेक्सन यसले आजसम्म अर्बौं घोटाला गरिसकेको छ ।
कानुनबाट बँच्न प्रचण्ड आफ्नो नाममा सम्पति किन्दैनन् । निकस्थ, परिवार र विश्वासपात्रका नाममा उनले अर्बौंको सम्पति संकलन गर्दै आएका छन् । उनी जति बिलासी नेता सायदै होलान् ।
प्रचण्डमाथि लडाकु शिविरमा भ्रष्टचार गरेको आरोप छ । यो मुद्दा अझै अदालतदेखि अख्तियारसम्म तामेलीमा छ ।प्रचण्डलाई लागेको भ्रष्टचारको आरोप
युद्धको सिंढी उक्लिएर शान्ति प्रक्रियामा आएपछि संधै सत्तामा रहेका प्रचण्ड विरुद्ध उनकै लडाकुहरु लाग्न थाले । अदालतदेखि विभिन्न अड्डाहरुमा उनी विरुद्ध उजुरी पर्दे गयो । युद्धका बेला विभिन्न पीडित पक्षहरु मिलेर अदालतमा उजुरी दिन थाले ।
तर,प्रचण्डलाई यिनै आठ दलले जोगाए । संक्रमणकालीन न्याय संयन्त्रले हेर्ने नाममा । उनी विरुद्ध अदालतले पक्राउको आदेश दिंदै थियो । प्रचण्ड पक्राउ पर्दै थिए, कस्ले रोक्यो ?
प्रचण्ड एक चतुर मात्र छैनन्, छलछाम गर्न पनि उति नै माहिर छन् । गठबन्धनको छिर्के दाउमा उनले कहिले कांग्रेसलाई उपयोग गरे कहिले एमालेलाई । अहिले उनी रास्वपालाई उपयोग गर्ने मैदानमा छन् ।
कुनैबेला इन्डियाको विरोध गर्ने प्रचण्ड सत्तामा टिक्न नसक्ने भएपछि त्यही इन्डियाको गुलामी गर्न थाले । यो लिंकमा जानुस । इन्डियाको गुलाम गर्दै प्रचण्ड
प्रचण्ड जब ०८१ असार ३० गते प्रधानमन्त्री पदबाट बाहिरए, तब उनका बोलि यति अनियन्त्रित छन् कि संभवत उनी आँफैले के बोंले भेउ पाउँदैनन् ।
प्रचण्डले बोलेको चाइना कार्ड त्यसैको उदाहरण हो । उनले ओलीलाई आरोप लगाउन त भ्याए तर, पछि ओलीसँगको बैठकमा आँफुले त्यसो नभनेको अर्को अर्थ लगाइएको भनेर पन्छिए ।
प्रचण्डले बोलेको शब्द, अडियो र भिडियो अहिले पनि इन्डियन मिडियामा सुरक्षित देखिन्छ । प्रचण्ड कति झुठ ?
‘राजनीतिमा लाग्ने हो भने लाटो मान्छेको काम छैन ।’ हाम्रा चौतारीहरुमा यो भनाई खुबै सुनिन्छ । आज प्रचण्डको बठ्याईं हेर्दा संभवतः साँच्चीकै नेपालको राजनीतिमा लाटो मान्छेको काम छैन ।
प्रचण्ड त्यस्ता व्यक्ति हुन्, जहाँँ अदालत, प्रहरी र अनुसन्धान निकायले काम गरिरहेका बेला पनि मुद्दाहरु प्रभावित पार्न अनेक बोल्छन् । मासलाई उचाल्न माहिर हुन् प्रचण्ड ।
यतिबेला सामान्य नागरिक प्रचण्डले भनेको पत्याइहाल्छन् । अहिले सामाजिक संजालमा शतप्रतिशत ओलीलाई गालि छ भने ठीक त्यसको विपरित प्रचण्डलाई तालि छ । तर, यो जमातलाई यो हेक्का छैन कि यी दुबैले बराबरी (तीन/तीन पटक) देश हांक्ने मौका पाएका छन् ।
प्रचण्ड त जहाँको मण्डपमा पुग्छन्, त्यहाँ उनी नयाँ ‘बर’ बनिहाल्छन् । पहिले कांग्रेसलाई अनि एमालेलाई प्रेम गरे । अहिले रास्वपालाई प्रेम गरेर नयाँ ‘बर’ बन्न खोज्दैछन् । बाठा प्रचण्डको ‘निंजा टेक्निक’ अहिले सामाजिक संजालमा निकै मौलाइरहेको छ ।
(द्रष्टव्यः माथि उल्लेखित हरेक बुँदाहरु तथ्यमा आधारित छन् । पाठकहरुको विश्वासको लागि हामीले महत्वपूर्ण वाक्यांशमा विभिन्न अभिलेखका लिंकहरु उपलब्ध गराएका छौं । सम्पादक ।)