काठमाडौँ । मुलुकबाट बाहिरिने भन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रु एक खर्ब ५० अर्ब २४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५३ करोडले बचतमा रहेको छ ।
यस्तै, चालु खाता रु एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड छ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब छ करोडले बचतमा रहेको छ । सो अवधिमा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब ४७ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु एक अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु पाँच अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु तीन अर्ब ६५ करोड रहेको थियो ।
चालु आवको पहिलो चार महिनामा कुल वस्तु निर्यात चार दशमलव दुई प्रतिशतले वृद्धि भई रु ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यातमा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८ दशमलव तीन प्रतिशत र तीन प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाबिन तेल, चिया, पार्टिकल बोर्ड, पिनालगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, जुस, अदुवालगायत वस्तुको निर्यात घटेको छ ।