काठमाडौँ । खानेपानी मन्त्रालय छ । यसको काम सरसफाई पनि हो । यो मन्त्रालय अन्तर्गत राष्ट्रिय खानेपानी,सरसफाइ तथा स्वच्छता २०८० को कार्यभार छ । के अब यो मन्त्रालयका मन्त्री सार्वजनिक शौचालयमा कुर्सी राखेर बस्न कति उपयुक्त होला ?
हरेक प्रहरी चौकीको कमाण्डर गृहमन्त्री हुन् । के गृहमन्त्रीले सुन्धाराको चौकीमा कुर्सी राखेर बस्न कति शोभनीय होला !
अर्थात हरेक विभाग, संस्थान, इकाई र अड्डाहरुका माथि मन्त्रालयहरु छन् । के प्रत्येक मन्त्रीहरुले रिस बिसाउन मन्त्रालय छोडेर यस्ता चौकीहरुमा घाम ताप्न मुन्टिए भने मुलुकको हालत के होला ?
अहिले १३ दिन (यही मंसिर १९) देखि उर्जामन्त्री दीपक खड्का विद्युत प्राधिकरण रत्नपार्कमा कार्यालय राखेर बसेका छन् । उनको कार्यकक्ष भने सिंहदरबार भित्र हो ।
खड्काले किन यस्तो हर्कत गरे त ? यो बुझ्न केही विषयमा प्रवेश गर्नुपर्छ । यो भन्दाअघि कुनै पनि सरकारी जिम्मेवारी व्यक्तिले आँफू अनुकुल जहाँ मन लाग्यो त्यही कार्यालय खोल्दा राज्यलाई व्ययभार हुन्छ । यो खतरा भ्रष्टको रुप हो । यसलाई स्वत प्रमाणित भ्रष्टाचार भनिन्छ ।
उर्जामन्त्री खड्काले अतिरिक्त कार्यालय (कार्यकक्ष) राखेर चरम भ्रष्ट गरेका छन् । सुशासनका जानकारहरु भन्छन्,‘मन्त्रीका लागि एउटा कार्यकक्ष खोल्दा लाग्ने फर्निचर, विविध सामग्री, कर्मचारी लगायतको खर्च सरकारकै हुने हो ।’
यस्तो अनुत्पादक काममा लाग्ने खर्च भनेको भ्रष्टाचारको चरम रुप भएको भ्रष्टाचार निवारण ऐनहरुमा उल्लेख छ । उर्जामन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग रिस साँँध्न गरेको यो हर्कत उर्जा मन्त्रालयमा खराब नजिर बनेर बस्नेछ ।
उर्जामन्त्री खड्काको विगत हामी यहाँ खोतल्दैनौं । अर्को कुनै टिप्पणीमा त्यो अवस्य पस्किनेछौँ । तर, उनले ३९ वर्षदेखि स्वायत्त संस्थाका रुपमा काम गरिरहेको नेपाल विद्युत प्राधिकरणमा पहिलो पटक यस्तो तमासा किन गरे, धेरैलाई चासो छ ।
खड्काले मन्त्रीमा नियुक्ति पाएपछि नै प्राधिकरणमाथि एकपछि अर्को गर्दै हस्तक्षेप गरिरहे । अनि उनले रातारात मन्त्रीको कार्यकक्ष भन्दै प्राधिकरणमा स्थापना गरे ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादले खटपट बढ्दै जाँदा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नभएको मौका छोपेर ऊर्जामन्त्री खड्काले आफ्नो कार्यकक्ष स्थापना गरे । जुनदिनमा प्रधानमन्त्री चीन भ्रमणमा थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्कनु एकदिनअघि खड्काले हतारहतारमा यस्तो हर्कत गरेका थिए ।
२०४२ सालमा स्थापना भएको नेपाल विद्युत प्राधिकरणमा पहिलो पटक मन्त्रीको कार्यकक्ष निर्माण गरेर खड्का यतिबेला बदनाम छन् ।
खड्काले कुलमानलाई लोडसेडिङ हटाइएको बदला लिन प्राधिकरणमै कार्यकक्ष राखेको कर्मचारीहरु बताउँछन् ।
नेपाल विद्युत प्राधिकरण ऐन २०४१ अनुसार बोर्डले निर्णय गर्छ भने अध्यक्षले बोर्ड बैठक सञ्चालन गर्न सक्छन् ।
मनोबैज्ञानिक रुपमा कुलमानलाई तर्साउने खड्काको हत्कण्डा
मन्त्री नियुक्त भएदेखि नै खड्काले कुलमानलाई रुचाएका थिएनन् । उनले कुलमानलाई दवावमा राख्न चाहन्थे । विवादका अनेक घटनाक्रमहरु बाहिर आएका थिए ।
तर कुलमान भने उद्योगीहरुबाट बक्यौता रकम उठाउनेदेखि प्राधिकरणलाई अझ चुस्त बनाउनेमा अडिग रहिरहे ।
कुलमानको लोकप्रियता खड्कालाई सह्य भएन । उनले प्रधानमन्त्री ओलीलाई पनि यो विषय जानकारी गराउँदै आएका थिए ।
स्वंय प्रधानमन्त्री ओली कुलमानको चर्चाप्रति सकारात्मक थिएनन्/छैनन् । कुलमानलाई पदबाट हटाउने प्रयास पनि भयो । तर, जनताको उभार र सामाजिक संजालको चर्को दवावले उर्जामन्त्री खड्का पछि हटे ।
त्यसपछि कुनै उपाय नलागेपछि कुलमानलाई मनोबैज्ञानिक रुपमा तर्साउन खड्काले प्राधिकरणमै बस्ने निधो गरे । यसमा प्रधानमन्त्री ओली मौन रहे । यही मौनता नै खड्काका लागि ठुलो समर्थन बन्यो ।
अहिले १३ दिनदेखि मन्त्रालय छोडेर उर्जामन्त्री खड्का विद्युत प्राधिकरणमा विताउँछन् । खड्काको यो चर्तिकलालाई अर्थविदहरुले अस्वभाविक र पूर्ण गलत कदमको रुपमा अर्थ्याउँछन् ।
‘यो एकखाले भ्रष्टचारको विशेष रुप हो, अर्थ राजनीतिकका जानकार हरि रोकाले भने,‘स्वायत्त संस्थामाथि कुनै पनि मन्त्रीले हस्तक्षेप गर्न पाउँदैन ।’
मन्त्रीहरु हरेक अड्डाहरुको सारथि र अभिभावक हुनुपर्छ, रोकाले राष्ट्रिय समाचार डटकमसँग भने,‘तर्साउने, काम गर्न नदिने र सही निर्णयहरुमा तगारो बन्न हुँदैन ।’ उर्जामन्त्री खड्काले कुलमानलाई मनोबैज्ञानिक रुपमै धपाउन यस्तो ज्यादति गरेको उनले बताए ।
खड्काले गरेको हर्कतले गलत नजिर बसाइदिएको छ, रोका भन्छन्,‘नीति नियम, ऐन कानुन भन्ने पनि चिज होला नि !’ मन्त्रीको पूर्वाग्रह प्राधिकरणमा छचल्किएको उनको भनाई छ ।
उर्जामन्त्री खड्का गठबन्धन सरकारमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्छन् । उनको यही हर्कतले कांग्रेसलाई आसन्न चुनावहरुमा ठुलो नोक्सान पुग्ने अधिकारीहरु बताउँछन् ।
यसै त नागरिकतह र सामाजिक संजालमा सत्ताका दलहरु, मन्त्री र नेताहरुप्रति जनताको आक्रोष चौपट छ, झन उर्जामन्त्री खड्काको यो कृयाकलाप जनताले रुचाउने कुरै भएन ।
कुलमानले लोडसेडिङ हटाएको छाप जनजनमा शिलालेख जस्तै गडेर बसेको छ । उनलाई कुनै प्रकारको दवाव दिने वित्तिकै जनतामा झन पुराना दलहरुप्रति विश्वासका आधारहरु समाप्त हुने धेरैले चर्चा गर्दै आएका छन् ।
उर्जामन्त्री खड्काको यो हर्कतले कुलमानको लोकप्रियता झन चुलिंदो र पुराना दलहरुका नेताहरुको साख अझै गिर्दै गएको स्पष्ट देख्न सकिन्छ ।