ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिएका छन्।
ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताए ।
गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुल जस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढेको, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुनाका साथै आम नेपालीको सरदर आयु ४२ वर्षबाट ७२ वर्ष पुगेको लगायत विगतको तुलनामा मुलुकमा क्रमशः विकास- निर्माणका गतिविधिले गति लिएको प्रधानमन्त्रीले उल्लेख गरे।
निरपेक्ष गरिबीको रेखामुनि २० प्रतिशत जनसङ्ख्या मात्र रहनु मुलुकका निम्ति उपलब्धि भएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भावका साथ समृद्धि तर्फको यात्रामा लाग्नु समयको माग भएको बताए ।राज्यले सामाजिक सुरक्षा प्रदान गरेको चर्चा गर्दै २०८२ साल भित्र देशलाई सडक मानवमुक्त बनाउने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक सहर ललितपुर भएकाले सम्पदाको संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवद्र्धन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताए ।
त्यस अवसरमा सांसद प्रेमबहादुर महर्जनले सरसफाइ अड्डाका रुपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरका रुपमा समृद्धितर्फको यात्रामा लागेको बताए ।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले ‘डिजिटल’ माध्यमबाट सेवा प्रवाह गर्न सुझाव दिए ।
महानगर प्रमुख चिरीबाबु महर्जनले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिए । उनले ठेक्का प्रणालीमार्फत बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको रथ व्यवस्थापन एवं मन्दिर निर्माणसम्बन्धी काम पुनर्निर्माण प्राधिकरणको विघटनसँगै अन्योलमा परेको गुनासो गरे।
उपप्रमुख मञ्जली शाक्यले महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्न आग्रह गरिन् ।