काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजबाट क्वालिफायरका खेलहरू सुरु हुँदैछ।
आज अङ्क तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा प्रतिष्पर्धा हुदैछ।
यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।
लिग चरणका सात मध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्।
यता, सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ। यो खेल आज दिउँसो १ बजे सुरु हुनेछ।
चितवन र कर्णाली मध्ये एक टिम इलिमिनेटर प्रतिस्पर्धामा पराजित भएमा उपाधि होडबाट बाहिरिने छन्। विजयी टिमले भने पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
दोस्रो क्वालिफायर भोली बिहीबार दिउँसो १२ः १५ बजे सुरु हुनेछ। दोस्रो क्वालिफायरमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ भने विजयी टिमले पहिलो क्वालिफयारमा विजयी हुने टोलीसँग फाइनलमा उपाधि भिडन्त गर्न पुग्नेछ।
नेपालको क्रिकेट उत्सवका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।