काठमाडौँ । ग्रेटर नेपालको शान्तिनगर स्थित केन्द्रीय कार्यालयको मुल ढोकाको ताला तोडफोड गरिएको छ ।
अज्ञात समुहले ताला फोडेर अर्को ताला झुन्ड्याइदिएका थिए ।
‘पुस ३ गते (बुधबार राती) तोडफोड गरिएको रहेछ, भोलिपल्ट बिहीबार विहान कार्यालय जाँदा अर्को ताला झुण्ड्याएको देखें, ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपालले भने,‘अन्य तोडफोड त छैन, तर कागजपत्र लैजाने मनसाय देखिन्छ ।’ ग्रेटर नेपालले कार्यालयमा कुनै महत्वपूर्ण कागजपत्र नराखेको उनले जानकारी दिए ।
ताला फोरेर खुलै रहेको अर्को ताला ढोकामा झुन्ड्याउनु भनेको कुनै नेपाल विरोधी इन्डियन पक्षधरबाट यस्तो अपराधजन्य काम भएको मैले आशंका गरेको छु, नेपालले भने । यसअघि पनि मैतीदेवीमा रहेको ग्रेटर नेपालको कार्यालय तोडफोड भएको जानकारी गराए ।
‘सबै नेपालीको लागि विशाल नेपालको मुद्दा बोकेर हिंडेको म, तर आफ्नै देशभित्रका नेपाल विरोधी तत्वबाट पटक पटक हैरानी व्यहोर्दै आएको छु, नेपालले भने,‘विगतको कार्यालय तोडफोड र अहिले यो ताला फुटाउनु भनेको ग्रेटर नेपालको मुद्दा कमजोर बनाउने खेलको रुपमा बुझेको छु ।’
’मैले अहिलेसम्मको सम्पूर्ण जीवन यही मुद्दा बोकेर विताएँ, अब बाँकी जीवन अझ प्रभावकारी रुपमा ग्रेटर नेपालकै विषय उठाउनेछु, आउने पुस्ताले सिंगो नेपाल कति हो र कत्रो हो भन्ने बुझ्न आवस्यक देखेको छु, उनी भन्छन्,‘यस्ता अवरोधले ग्रेटर नेपालको अभियान न नरोकिन्छ न अल्झिन्छ ।’
सम्पूर्ण नेपालको भुभाग प्राप्त गर्न ग्रेटर नेपालको विशाल अभियानमा सबै देशभक्त नेपाली गोलवद्ध हुन जरुरी भइसकेको नेपालले अवगत गराए ।
फणीन्द्र नेपालले विगत साढे तीन दशकदेखि अर्जुनदृष्टि जसरी ग्रेटर नेपालको मुद्दा अनवरत रुपमा उठाउँदै आएका छन् । उनका केही विचारहरु यो ग्रेटर नेपालबारे लिंकमा गएर पढ्न सकिन्छ ।