काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो।
च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गर्यो ।
१ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरुले सर्वाधिक ८७ रन जोडे ।
लाहिरुले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । लिगको दोस्रो अर्धशतक उनले ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले जीवनदान पाएका थिए । उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच छोडेका थिए ।
त्यो समयमा लाहिरु ६५ रन बनाएका थिए । दुई वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगमा विराटनगर किंग्सलाई फाइनलमा पराजित गर्दा सर्वाधिक ४१ रन जोडेका थिए ।
पहिलो विकेटका लागि लागिरु र आसिफ शेखले ४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।
आसिफ सेफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष ठाकरले बलमा चौका र छक्काको सहयोगमा नट आउट रन जोडे । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।
जेम्स निशम ४ जोड्दै कप्तान दीपेन्द्रको बलमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि दीपेन्द्र, स्कट कुग्गेलेइन, जेब र इशान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।
लिगमा दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यस समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अनितम बलमा जेब बाउन्ड्रि नजिकै ललितनारायण राजवंशीबाट समातिए ।
पहिलो विकेटका लागि जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपुर्ण साझेदारी गरे । जैब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।
हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए ।
ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।
कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।
यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको थियो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।
एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
फाइनल खेल हेर्न हजारौं दर्शक मैदान पुगेका थिए । पुर्वप्रधानमन्त्रीद्धय शेरबहादुर देउवा, प्रचण्ड लगायतका विशिष्ट व्यक्तिहरु त्रिबि मैदान पुगेका थिए ।