काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१- ८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड बराबरको विद्युत् इन्डिया निर्यात गरेको छ ।
प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ७६ करोड युनिट विद्युत् इन्डियातर्फ निर्यात गरेको छ । चार महिनामा इन्डियातर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् इन्डियन ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
इन्डियासँगको विद्युत् व्यापार इन्डियन रुपैयाँ (भारु) मा हुने गरेको छ । प्राधिकरणले विद्युत् बिक्री गरी भारु आठ अर्ब १५ करोड आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी रु चार अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाखको मात्र निर्यात भएको छ । भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड बराबरको विद्युत् इन्डियातर्फ निर्यात गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिराका कारण मुख्य रूपमा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको जानकारी दिए ।
माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरूमा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले बताए ।
अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । नदी तथा खेला नालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात पनि सुरु भइसकेको छ ।
चालु आवमा करिब ३० अर्बको विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ ।