काठमाडौँ । सांसदहरुले सुपारी खेती प्रवर्द्धन मार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन् ।
आज राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनीहरूले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजस्वले गुट्काबाट १० अर्बको राजस्व सङ्कलन भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउनसक्ने धारणा राखे। केराउ र मरीच आयात अनुमति नदिए पनि आयात आइरहेको उनले दाबी गरे।
समिति सभापति कमला पन्तले आफ्नो उत्पादन आफैँले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुपर्नेमा जोड दिइन् ।
सांसद बामदेव गौतमले चोरी निकासी रोक्नका लागि नेपालले खुला सिमाना बन्द गर्नुपर्ने र भिसा प्रस्ताव गर्नुपर्ने बताए ।
सांसद उर्मिला अर्यालले पनि सुपारी निकासा हुनुपर्नेमा जोड दिइन् । सांसद विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक- पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सुपारीको डीएनए परीक्षणका लागि ल्याब स्थापना गर्न आवश्यक रहेको बताए ।
सांसद भवनबहादुर सुनुवारले कृषि र उद्योग मन्त्रालयको समन्वयमा सुपारी निर्यातको सम्भावना पहिल्याउन आवश्यक रहेको बताए।
सांसद डा अञ्जान शाक्यले सुपारीको डीएनए टेष्ट गर्न सकिने भन्दै कहिले गर्ने भन्ने समय तोक्नुपर्ने बताए ।
सांसद झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रुपमा छलफल आवश्यक भएको उल्लेख गरे।
सांसद सावित्री मल्लले सुपारी उत्पादन चारवटा जिल्लामा मात्रै हुने गरेको उल्लेख गर्दै अन्य १० जिल्लामा सुपारी उत्पादनलाई प्राथामिकता दिन आवश्यक भएकोमा जोड दिइन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डीएनए टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।