काठमाडौँ । विश्वभरका युवायुवतीहरु आबद्ध सबैभन्दा ठुलो अन्तराष्ट्रिय सञ्जाल भएको नेपाल जेसीजको महाधिवेशन सम्पन्न भएको छ ।
५१ औँ महाधिवेशनबाट नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् ।
यही पुस ६ गतेदेखि इटहरीमा संचालन भएको महाधिवेशनले रजनीलाई निर्वाचित गरेको हो । महाधिवेशन तीनदिनसम्म चलेको थियो । रजनी यो महाधिवेशनबाट सन् २०२५ का लागि निर्वाचित हुन् ।
निर्वाचन परिणाम अनुसार रजनीले ७६२ मत ल्याइन् । अर्का उम्मेदवार जीवन कार्कीले ४५३ मत पाए ।
राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी रजनी सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष थिइन्। सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बनेकी थिइन्।
यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भए। यस पदमा ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो भने चार जना निर्वाचित भएका हुन्।
राष्ट्रिय उपाध्यक्ष १२ जना निर्वाचित भएका छन्।
सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल निर्वाचित भएका हुन्।
महासचिव, कोषाध्यक्ष लगायत पद भने मनोनीत हुने व्यवस्था छ। जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए।
अध्यक्षमा निर्वाचित रजनी २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन्।
सामाजिक र राजनीति क्षेत्रमा सक्रिय रजनी क्षमतावान बनेर हरेक मञ्चमा देखिंदै आएकी छिन् ।
सबैभन्दा ठुलो अन्तराष्ट्रिय संजाल भएको नेपाल जेसीजमा महिला नेतृत्वको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएर उनले मातृशक्तिको उदाहरण पेश गरेकी छिन् ।