पोखरा। पर्यटकीय राजधानी री मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महोत्सवले पोखरामा चहलपहल थपिएको हो ।
बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव नौ दिनसम्म चल्नेछ । पोखरालाई साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।
“हाम्रो मुख्य उद्देश्य साहसिक गतिविधिबाट अन्तर्राष्ट्रिय जगतमा पोखरालाई चिनाउने हो, मङ्गलबारदेखि सुरु भएको महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको सहभागिताले हामीलाई उत्साहित बनाएको छ”, उनले भने ।
महोत्सवको विशेष आकर्षणका रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्यावलोकन, नाइट बेलुन ग्लो, बेलुनहरू रातमा झिलीमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौँको कुमारी नृत्य र बज्रयोगिनी लगायत छन् ।
पोखरा पर्यटन विकास समिति पोखरा महानगरपालिकाका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बेलुन महोत्सव पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताए ।
उनले पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिसकेकाले यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।