काठमाडौँ । नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निष्कासित गरेको छ ।
बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री समेत भइसकेका रावल एमालेका वरिष्ठ नेतामा पर्छन् । दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार बनेका थिए ।
रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको सचिवालयको निष्कर्ष रहेको छ ।
उहाँका अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएकाले सचिवालयबाट साधारण सदस्यताबाट मुक्त गर्ने निर्णय भएको हो, ज्ञवाली भन्छन् ।
रावलसँगै एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
कारवाहीको सम्बन्धमा रावलले संचारमाध्यमलाई प्रतिक्रिया दिंदै भनेका छन्,। ‘यो ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज हो । ओलीले लामो समयदेखि नै कम्युनिस्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएका थिए ।’
ओली साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलान्जली दिएर आफूविरुद्ध खनिएको रावलको आरोप छ ।
‘हेर्दा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो मूलतः ओलीकै एकल निर्णय हो,रावलले भने,‘उनी लामो समयदेखि अध्यक्षका रूपमा त्यसको नेतृत्वमा छन् । त्यसैले यो ओलीकै निर्णय हो ।’
उता निलम्बनमा परेकी विन्दा पाण्डेले पार्टी कार्यालय आँफैले बनाउनुपर्छ भन्ने आफ्नो अभिव्यक्ति सही भएको प्रतिक्रिया दिइन् । मैले यसमा आत्मालोचना गर्ने कुरै नहुने उनको अडान छ ।
एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णय गरेपछि विवाद सृजना भएको थियो ।
यही आधारमा पाण्डे र तिम्सेना कारवाहीमा परेका हुन् । रावललाई भने एमालेले फुटेकै मितिदेखि नै जिम्मेवारीविहीन अवस्थामा राखेको थियो ।
एमाले फुटेर एकीकृत समाजवादी पार्टी निर्माण भएपछि रावल जर्वजस्त एमालेमै टिकिरहेका थिए ।
तर, उनलाई पार्टीले ०७९ सालको आमनिर्वाचनमा सांसदको टिकट दिएको थिएन । उनले टिकट लिन निकै प्रयास गरेका थिए ।