काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विविध निर्णयहरु गर्दै सरकार बिरुद्ध सभाहरु गर्ने निर्णय गरेको छ ।
राप्रपाले यो साता लगातार बैठक राखेर आफ्ना नेता कार्यकर्ताहरुमा सामाजिक संजाल आचारसंहीता लागु गर्नेदेखि सरकार बिरुद्ध कसरीअघि बढ्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफलताउन्मुख रहेको राप्रपाको निष्कर्ष रहेको छ ।
पार्टीले आफ्ना पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।
‘एमाले–कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ,’ राप्रपाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो।’
राप्रपाले कांग्रेस र एमालेले गत असार १७ मा गरेका ७ बुँदे सहमतिमा उल्लेख रहेको संविधान संशोधनको कुरा पनि उप्काउँदै यसमा गम्भीर हुन आग्रह गरेको छ।
राप्रपाले सहकारी पीडितका समस्यामा गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेको छ।
सहकारीको बचत रकम हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही दायरामा ल्याउन पनि राप्रपाले सरकारलाई आग्रह गरेको हो।
साथै बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।
राप्रपाले कर्णाली र सूदुरपश्चिम क्षेत्रमा जागरण सभाहरु सम्पन्न गरिसकेको छ । हालै सम्पन्न उपनिर्वाचनमा राप्रपाले तुलनात्मक रुपमा सुधारउन्मुख मत प्राप्त गरेको थियो ।