काठमाडौँ । दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको छ ।
दुई जनालाई भने जिवितै उद्धार गरिएको छ।
मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जनाएको छ।
जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। दुर्घटनामा जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ।
विमानस्थलका अधिकारीहरूले जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्।
देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ ।
जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।।
अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ ।
दुर्घटनाको कारण स्पष्ट नभएपनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएका विभिन्न तस्बिरले दुर्घटनाका सन्दर्भहरु अनेक विवरणहरु बाहिर आएका छन् ।
विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसको केही भाग एकाएक विस्फोट हुन्छ। अन्य फुटेजमा आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडिरहेको समेत देखिन्छ।
अहिले तीव्रगतिमा उद्धार भइरहेको छ । सम्पूर्ण विवरणहरु कोरियाली सरकारी संचारमाध्यमले संकलन गरिरहेका छन् ।