काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा.मुकुल ढकाललाई पार्टीमा फर्काउन माग उठेको छ ।
ढकाल संस्थापक महामन्त्री हुन् । उनलाई सोही पदमा कायम राख्न माग राख्दै रास्वपाको जिम्मेवारीमा फर्काउनुपर्ने आवाज उठेको हो ।
यसअघि विभिन्न तहबाट अनौपचारिक रुपमा ढकाललाई बर्खास्त गरिएकोमा नेतृत्वको विरोध हुँदै आएको थियो ।
अहिले भने रास्वपाका नेताहरुले औपचारिक रुपमै नेतृत्वलाई पत्र लेखेर ढकालको पार्टी फिर्ती हुनुपर्ने माग उठेको छ ।
कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन औपचारिक माग उठाएका हुन् । उनिहरुले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएर पार्टी भित्र रिस राग राख्न नहुने बताएका छन् ।
ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका छन् । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् ।
‘राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु । यसर्थ, पार्टीमा डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले पत्रमा लेखेका छन् ।
ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको मधेशका महामन्त्री यादवले लेखेका छन् । रास्वपा हाल सबैभन्दा ठूलो संकटको घडीमा रहेको यादवले लेखेका छन् ।
‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्योभन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ । कसैसँग रिस, राग, द्वेष र अनुराग नराखिकन एक आपसका सबै तुष सबै पक्षबाट त्यागौं र संकटको यो घडी फुटेर होइन जुटेर सामना गरौं,’ यादवले लेखेको पत्रमा भनिएको छ ।
तत्कालीन महामन्त्री ढकालको नेतृत्वसँग टकराव परेपछि उनी गत असारमा निष्कासनमा परेका थिए ।
तर, डा.ढकालले भने आँफू नै अहिलेसम्म आधिकारिक महामन्त्री रहेको दावी गर्दै आएका छन् । रास्वपाको केन्द्रीय समितिको बहुमत सदस्यले उनलाई हटाएको थियो ।
निष्कासनमा परेपछि ढकाल र पार्टी नेतृत्वबीचमा आरोप प्रत्यारोप चल्दै आएको थियो । पार्टी गठनमा ढकालको मुख्य भुमिका रहेको थियो । संस्थापक सभापति रवि र मुकुल कुनैबेला घनिष्ठ मित्र बनेर सामाजिक काम गर्दै आएका थिए ।
अहिले रास्वपा सभापति रवि लामिछाने थुनामा छन् । कार्यवाहक डीपी अर्यालले सम्हाल्दै आएका छन् । रास्वपाले आउने बैशाखमा प्रथम महाधिवेशन गर्ने घोषणा गरेको छ ।