काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ बारे सरोकारवालासँग छलफल गरेको छ ।
समितिले आज नेपाल समुद्रपार निकासी पैठारी सङ्घ, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड र नेपाल इन्टरमोडल यातायात विकास समितिसँग छलफल गरेको हो ।
समुद्रपार निकासी पैठारी सङ्घले व्यापार सहजिकरणका लागि विभिन्न विषयमा सहजिकरणका लागि सुझाव दिएको छ । भन्सार क्षेत्र बाहिर गई वस्तु जाँच गर्दा लाग्ने महशुलको थप ५० प्रतिशत रकम धरौटी लिने व्यवस्थाले व्यवसायीलाई अनावश्यक बोझ र नगद प्रवाहमा चाप पर्ने भएकाले यो व्यवस्थालाई संशोधन गर्नुपर्ने सङ्घको माग छ ।
भन्सार अधिकृतले निर्धारण गरेको मूल्यभन्दा घोषणाकर्ताले घोषणा गरेको मूल्य १५ प्रतिशतभन्दा बढी भएमा मात्र त्यसलाई न्यून बिजकीकरण भएको मान्नुपर्ने, भन्सार जाँचपासका क्रममा प्रयोग हुने मूल्य सन्दर्भ पुस्तिका खारेज गरिनुपर्ने, भन्सार जाँचपासमा आएका वस्तुको ‘हाईमाइज्ड कोड’ अनुसार वस्तुको वर्गीकरण १५ दिनभित्र सक्नुपर्ने लगायत सुझाव आएका छन् ।
त्यस्तै, प्रशासकीय पुनरावलोकनमा गएका फाइलहरू टुङ्ग्याउनका लागि समय तोक्न आवश्यक रहेको सङ्घका प्रथम उपाध्यक्ष अनिल कुमार अग्रवालले बताए।
वेयरहाउस सञ्चालनको अनुमति दिने निकाय बारे स्पष्ट कानुनी व्यवस्था गरिनुपर्ने, भन्सार कार्यालय परिसरमा वेयरहाउस सञ्चालनका लागि स्वीकृति दिँदा सरकारी कम्पनीलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव दिएको छ ।
त्यस्तै, भन्सार मूल्याङ्कन पुनरावलोकन समितिले ९० दिनभित्र निर्णय गरिसक्नुपर्ने र सो समयभित्र समितिले निर्णय गर्न नसकेको अवस्थामा निवेदकले राजश्व न्यायाधीकरणमा निवेदन दिने सक्ने व्यवस्था भन्सार ऐनमा राख्नुपर्नेलगायतका सुझाव नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले दिएको छ ।
भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकुल हुने गरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याएको हो ।