काठमाडौँ । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपालले चीन र इन्डियाबीच हालै भएको सहमतिप्रति गंभिर रुपमा असमति जनाउँदै त्यसको विरोधमा प्रदर्शन गर्ने भएका छन् । सोमबार उनले राजधानीमा प्रदर्शन गर्नेछन् ।
नेपालको सार्वभौम अस्मितामाथि प्रहार हुनेगरि भएको दुई देशबीचको यो सहमतिले भविस्यमा नेपाललाई ठुलो असर पर्ने जानकारहरुले औंल्याउँदै आएका छन् ।
गत १८ डिसेम्बर (पुस ३ गते) भएको चीन र इन्डियाबीचको सहमतिले लिपुलेकमा इन्डियालाई अझै कब्जा जमाउन बल पुगेको ठहर ग्रेटर नेपालले गरेको छ ।
यो सहमतिका बारेमा नेपाली संचारमाध्यमले विस्तृत खबरहरु सम्प्रेक्षण गरेपनि नेपाल सरकारले भने गैरजिम्मेवारपुर्वक जवाफ दिएको थियो । के थियो चीन र इन्डियाबीचको सहमति ?
ग्रेटर नेपालले भने सहमति भएकै दिनदेखि विरोधमा जोडदार आवाज उठाउँदै आएको थियो । ग्रेटर नेपाल अन्तर्गतको संस्था ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले यही पुस १९ गते विज्ञप्ति जारी गर्दै नेपाल सरकार भौगोलिक अखण्डताप्रति सचेत नभएको आरोप लगाएको छ ।
मोर्चाका अध्यक्ष नेपालद्वारा जारी विज्ञप्ति–
चीन र इन्डियाले नेपालको लिपुलेकमाथि गरेको गैरन्यायिक र अवैध सहमतिविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेसविज्ञप्ति
नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरादेखि लिपु लेकसम्मको ५६ किलोमिटर लामो भूमिमा इन्डियाले सन् १९६२ देखि अहिलेसम्म सैनिक बलमा कब्जा जमाउँदै आइरहेको छ । सन् २०१५ मा चीन र इन्डियाले लिपुलेक भन्ज्याङबाट द्विपक्षीय व्यापार तथा कैलास यात्रा गर्ने सहमति गरेकोे र हालै २०२० देखि अवरुद्घ कैलास मानसरोवर यात्रा खुला गर्ने सहमतिले चीन र इन्डिया दुवै मुलुकले नेपालको सार्वभौमसत्ताको चरम उपेक्षा गरेको स्पष्ट भएको छ । उक्त सहमतिमा लिपुलेकको नाम नलिएको भए पनि कैलास मानसरोवर यात्रा लिपुलेकबाटै हुने स्पष्ट छ ।
आफ्नो देशको भूभागमाथि अरू देशले थिचोमिचो गर्दा नेपाल सरकारले तत्काल विरोध गरी सो भूभागमाथि नियन्त्रण कायम गर्नुपर्नेमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यममा’भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढंगले गरेको होइन । त्यो उहाँहरूकै ’टेक्निकलझ कुरा हो र त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो तर निष्कर्षचाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइनझ भन्ने गैरजिम्मेवार प्रतिक्रिया दिएबाट यो सरकार देशको भौगोलिक अखण्डताप्रति सचेत र समर्पित छैन भन्ने प्रमाणित भएको छ । यति संवेदनशील विषयमा सरकार जिम्मेवार नदेखिएपछि नागरिक तहबाट चीन र इन्डियाले गरेको सहमतिविरुद्ध आवाज उठाउनु जरुरी देखिएको छ ।
अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सबै नेपालीमा चीन र इन्डियाले नेपालको लिपुलेकमाथि गरेको अन्यायपूर्ण र अवैध सहमतिका विरुद्ध सडकमा निस्किएर विरोध जनाउन हार्दिक अपिल गर्दछ ।
चीन र इन्डियाबीचको सहमतिमा के छ ?
१८ डिसम्बरमा बेइजिङमा एउटा बैठक बसेको थियो । त्यो बैठकमा इन्डियाका विशेष दूत बनेर चीन पुगेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच खास कुराकानी भयो ।
दुवै देशहरूले विशेष प्रतिनिधिस्तरीय २३औँ बैठक भनिएको उक्त बैठमा द्विपक्षीय हितका विविध विषयहरूमा कुराकानी भएको दुवै देशका विदेश मन्त्रालयहरूले जारी गरेका विवरणमा उल्लेख छन्।
त्यस क्रममा कोभिड महामारीपछि रोकिएको इन्डियाली तीर्थयात्रीको कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति पनि बनेको उल्लेख छ।
कोभिडपछि रोकिएको इन्डियाली तीर्थयात्रीको यात्रा दुई देशका सैनिकहरूबीच गलवान उपत्यकामा भएको झडपपछि फेरि सुरु हुन सकेको थिएन।
दुवै देशका विदेश मन्त्रालयहरूले जनाएअनुसार विशेष प्रतिनिधिहरूले आपसी हितका द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मामिलामा विचार आदानप्रदान गरेको थिए।
इन्डियन विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कैलाश मानसरोवर यात्राको पुनः सुरुवात, सीमापार नदीहरूको तथ्याङ्क आदानप्रदान र सीमा व्यापार लगायतका सीमापार सहयोग र आदानप्रदानका लागि सकारात्मक दिशा निर्देश भएको छ ।’
इन्डियाबाट सीधै मानसरोवर तीर्थयात्रा जाने मुख्य बाटो भनेको नेपालको लिपुलेक भएर जानेबारेमा नेपाल सरकार गंभिर नहुनुले सबैलाई आश्चार्यचकित पारेको छ । नेपालको लिपुलेक भुमि हुँदै मानसरोवर जाने नभनी सोझै चीन र इन्डियाको स्वार्थ मिलेको यो सहमतिबाट स्पष्ट देखिन्छ ।
विसं २०७७ जेठमा नेपाल सरकारले गठन गरेको ’नेपाल–इन्डिया सीमासम्बन्धी प्रमाण सङ्कलन कार्यका लागि मानसरोवर जान नेपालको भुमि प्रयोग हुने उल्लेख थियो । तर, हालै (डिसेम्बर १८) को दुबै देशको सहमतिमा ‘नेपालको भुमि’भन्ने शब्द कतै राखिएको छैन ।
नेपालको जमिन कब्जा गरिएको, इन्डियाबाट सीमा मिचिएको र नेपालले चाल्नुपर्ने कदमका बारेमा ग्रेटर नेपालले विगतदेखि नै निरन्तर खबरदारी गर्दै आएको छ ।
नेपालको भुमि इन्डियालाई कब्जा गर्न झन बल पुग्नेगरि दुई देश (चीन–इन्डिया)बीच भएको सहमति विरुद्ध नेपाल सरकारलाई ध्यानार्कषण गराउन आँफु प्रदर्शनमा उत्रन लागेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बताए ।
म भन्छु, नेपाल सरकारले दुबै देशसँग तुरुन्त जवाफ मागोस र इन्डियाको कब्जाबाट नेपाली भुमि फिर्ता लिओस ।’ नेपाल सरकारले जबसम्म लिपुलेकबाट इन्डियाको हस्तक्षेप अन्त्य गर्न सक्दैन तबसम्म आँफू चुप लागेर नबस्ने उनले जानकारी गराए ।
स्मरणरहोस, ग्रेटर नेपालले विगतदेखि नै सम्पूर्ण विशाल नेपालको माग उठाउँदै सयौं विरोधका कार्यक्रम र प्रदर्शनहरु गर्दै आएको छ । ग्रेटर नेपालको अवधारणा