काठमाडौँ । काठमाडौँ । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाललाई प्रहरीले आज (१२ बजे) मध्यान्हमा सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ । उनी सिंहदरबार गेटमा धर्ना बस्न पुगेका थिए ।
उनलाई सिंहदरबारको दक्षिणीगेटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले लिपुलेक प्रकरणमा नेपाल सरकार गैरजिम्मेवार भएको कारण देखाएर विरोध स्वरुप धर्ना बस्न पुगेका थिए । अहिले उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
नेपालले फोनमा भने,‘मलाई अहिले प्रहरीले पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा ल्याएर राखेको छ ।’
उनले विहानै सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्न जान लागेको उनले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेर जानकारी गराएका थिए ।
नेपालले विगतदेखि नै बृहत्तर नेपाल (ग्रेटर नेपाल) र इन्डियाले सिमाना मिचिएका विषयमा निरन्तर अभियान छेड्दै आएका छन् ।
फणीन्द्र नेपालले आज सामाजिक संजालमा गरेको पोष्ट–
लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२ः०० बजेदेखि ४ः०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।
गत १८ डिसेम्बर (पुस ३ गते) भएको चीन र इन्डियाबीचको सहमतिले लिपुलेकमा इन्डियालाई अझै कब्जा जमाउन बल पुगेको ठहर ग्रेटर नेपालले गरेको छ । के थियो चीन र इन्डियाबीचको सहमति ?
यो सहमतिका बारेमा नेपाली संचारमाध्यमले विस्तृत खबरहरु सम्प्रेक्षण गरेपनि नेपाल सरकारले भने गैरजिम्मेवारपुर्वक जवाफ दिएको थियो ।
ग्रेटर नेपालले भने सहमति भएकै दिनदेखि विरोधमा जोडदार आवाज उठाउँदै आएको थियो । ग्रेटर नेपाल अन्तर्गतको संस्था ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले यही पुस १९ गते विज्ञप्ति जारी गर्दै नेपाल सरकार भौगोलिक अखण्डताप्रति सचेत नभएको उल्लेख गरेको थियो । नेपाल सरकारको गैरजिम्मेवारीपन विरुद्ध ग्रेटर नेपाल । यो समाचार तयार पार्दासम्म फणीन्द्र नेपाल रिहा भएका छैनन् ।
उनी पक्राउ पर्दाका केही तस्बिरहरु-
(सम्पूर्ण तस्बिरहरु: सुमोद पोखरेल)