दाङ। लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी- २० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी- २० छनोट प्रतियोगिता हुन लागेको हो ।
दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ । भोलि बाँके- पाल्पा र नवलपरासी- रूपन्देहीबीच हुनेछ ।
यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दियाबीच खेल हुने सचिव रोका मगरले जानकारी दिए । उनका अनुसार पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ ।
प्रतियोगितामा समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् ।
छनोट प्रतियोगितापछि लुम्बिनी प्रदेशको टोली घोषणा हुनेछ ।
प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको ‘पिच’ मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ ।
प्रधानमन्त्री कप महिला छनोट टी- २० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ ।