काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउँदैछ ।
दिवसका अवसरमा आज राप्रपाले राजधानीमा चियापान समारोह आयोजना गरेको छ । समारोहमा सबै दलका शिर्ष नेताहरु सहभागी हुँदैछन् ।
सरकारका तर्फबाट पृथ्वी जयन्तीका अवसरमा कुनै औपचारिक कार्यक्रम नगरेपनि विगतदेखि नै राप्रपाले आफ्नै ढंगले दिवस मनाउँदै आएको छ ।
दिवसलाई भव्य बनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो दिनभर विभिन्न शिर्ष नेताहरुसँग भेटघाट गरेका थिए । अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए ।
बिहीबार साँझ बालुवाटार पुगेर लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। भेटमा अन्य विषयमा पनि लामो कुराकानी भएको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन्।
राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको छ।
आम निर्वाचनपछि राप्रपासमेत सहभागी पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो।
राप्रपाले २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ। तर सरकारका तर्फबाट कुनै औपचारिक कार्यक्रम आयोजना छैन ।
लिङ्देनले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।
विभिन्न नेताहरुसँग भएका भेटघाट र दिवसका बारेमा लिङ्देन सहितका नेताहरुले आआफ्ना सामाजिक संजालबाट जानकारी गराएका छन् ।
उता, राप्रपा नेपालले पनि आज राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती मनाउँदैछ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा सबैलाई सहभागी हुन आह्वान गरेका छन् ।
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको ठुलो योगदान रहेको छ । यो योगदानलाई राजनीतिबाट पर राखेर सम्पूर्ण नेपालीले दिवसको रुपमा मनाउनुपर्ने इतिहासका जानकारहरुले सम्झाउँदै आएका छन् ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । वि. सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
वि. सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले वि. सं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।