काठमाडौँ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीका अवसरमा आज शनिबार ग्रेटर नेपालले सम्मान प्रकट गरेको छ ।
ग्रेटर नेपाल अन्तर्गतको आधिकारिक संस्था ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीका अवसरमा आज बिहान ९ः२५ मा सिंहदरबार पश्चिमी ढोकामा अवस्थित पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकको स्तम्भको पूर्व , उत्तर र दक्षिण तीनतिरबाट देखिनेगरी बृहत्तर नेपालको नक्सा राखेर सम्मान गरेको हो ।
ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपालले उक्त नक्सा राख्दै पृथ्वीनारायण शाहकै पालामा नेपालको पुर्वी सिमाना दार्जिलिङ कायम रहेको अवगत गराएका छन् ।
नेपालले ग्रेटर नेपाल अभियानका क्रममा भन्दै आएका छन्,‘पृथ्वीनारायण शाहको राज्य विस्तार नरोकिएको भए पूर्वमा ब्रम्हपुत्र नदीदेखि पश्चिममा रावी नदीसम्म नै नेपाल कायम हुने थियो ।’
जति पृथ्वीनारायण शाहका पालामा नेपाल एकीकरण भयो त्यो रफ्तारमा उनको मृत्युपछि एकीकरण हुन नसक्दा हालको ग्रेटर नेपाल (त्यतिबेलाको वास्तविक नेपाल) छुट्न गएको सोझो रुपमा अनुमान गर्न सकिने आधार रहेको उनले बताए । पृथ्वीनारायण शाहको ५२ वर्षको कलिलो (अल्पआयु) उमेरमै मृत्यु भएको थियो ।
आज राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आँफुले तयार गरेका ३ वटा नक्सा शालिकमा राखेको छ ।
ग्रेटर नेपालले यो सम्मान हरेक वर्ष गर्दै आएको छ । आजको कार्यक्रममा नक्सा राखिसकेपछि प्रहरीले ठीक व्यवहार प्रदर्शन नगरेको गुनासो फणीन्द्र नेपालले गरेका छन् ।
भावी पुस्तालाई नेपालको इतिहास सम्झाउन पनि ग्रेटर नेपालको कुरा गरिरहनुपर्ने औंल्याउँदै नेपालले यो देशको कथित नेतृत्वले ग्रेटर नेपाल माग्दैन भन्दैमा यसबारे छलफलै नगर्नु भनेको हाम्रा पुर्खाप्रतिको अन्याय हुने उनले बताए ।
नेपालले ग्रेटर नेपालको नक्सा जारी मात्र गरेका छैनन्, बेखर्ची बनेर हरेक महिना नेपाल सरकारलाई घच्घच्याउन, इन्डियालाई चेतावनी दिन र नेपाली जनतालाई व्यूँझाउन विविध प्रकारका अभियान र कार्यक्रम गर्दै आएका छन् ।