काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज विविध कार्यक्रम सम्पन्न गरेको छ ।
विहान सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न गर्यो । त्यसपछि चियापान समारोह भव्य रुपमा सम्पन्न गरेको छ ।
भृकुटीमण्डपमा सम्पन्न चियापान समारोहमा प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरू, कलाकारदेखि कृटनीति क्षेत्रका व्यक्तिहरु उपस्थित रहेका थिए ।
चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री आरजु राणा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदहरु रामहरि खतिवडा, अमरेश सिंह, भीम रावल, मुकुल ढकाल लगायत गन्यमान्य व्यक्तिहरुको सहभागीता थियो ।
चियापानअघि विहान राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले यो कार्यक्रम राखेको हो ।
विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।
सरकारका तर्फबाट पृथ्वी जयन्तीका अवसरमा कुनै औपचारिक कार्यक्रम नगरेपनि विगतदेखि नै राप्रपाले आफ्नै ढंगले दिवस मनाउँदै आएको छ ।
दिवसलाई भव्य बनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो दिनभर विभिन्न शिर्ष नेताहरुसँग भेटघाट गरेका थिए ।
राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको थियो ।
आम निर्वाचनपछि राप्रपासमेत सहभागी पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो।
राप्रपाले २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ। तर सरकारका तर्फबाट कुनै औपचारिक कार्यक्रम आयोजना छैन ।
उता, राप्रपा नेपालले पनि आज राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती मनाएको छ । त्यहाँ पनि शिर्ष नेताहरुदेखि विभिन्न व्यक्तित्वहरुको सहभागीता थियो ।
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको ठुलो योगदान रहेको छ । यो योगदानलाई राजनीतिबाट पर राखेर सम्पूर्ण नेपालीले दिवसको रुपमा मनाउनुपर्ने इतिहासका जानकारहरुले सम्झाउँदै आएका छन् ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । वि. सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
वि. सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले वि. सं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
राप्रपाले पृथ्वी जयन्ती मनाएका केही तस्बिरहरु
(सम्पूर्ण तस्बिरहरुः रास ।)