फोटो: गुल्मी रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्दै भक्तजन । रासस
काठमाडाैँ । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकी लगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भीड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र- १ चतराधामस्थित बराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
सोमबार साँझदेखि नै धामी- झाँक्रीसहित ठूलो सङ्ख्यामा भक्तजन स्नान गर्न र पूजापाठ गर्न आएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।
पूजा गर्न र मकर स्नान गर्न मुलुकका विभिन्न स्थानसँगै भारतको विहार, पश्चिम बङ्गाल, सिक्किमसँगै भूटानबाट समेत हिन्दू धर्मावलम्बीहरु आउने गरेका छन् ।
यसैबीच कालीगण्डकी अन्तर्गत पर्वतको प्रसिद्ध धार्मिकस्थल मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भक्तजनको भीड लागेको छ । बिहानै कालीगण्डकीमा स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पर्वत सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्राम लगायतका स्थानबाट भक्तजन स्नान गर्न आइपुगेका हुन् । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा आज विशेष मेला लागेको छ ।
त्यसैगरी, पवित्र देवभूमि- वेदभूमिको प्रवेशद्वार मानिने कैलालीको गोदावरी धाममा ‘बाह्रराशि दर्शन मकर मेला’ प्रारम्भ भएको छ । बाह्रराशि दर्शन मेला हुने भएपछि गोदावरीधाम क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ । गोदावरी नगरपालिकाले भक्तजनका लागि बस सेवा उपलब्ध गराएको छ ।
आजदेखि यही माघ १२ गतेसम्म १२ दिवसीय बाह्रराशि दर्शन मकर मेला सुरु भएको हो । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार, चुरे पहाडको फेदमा रहेको यो क्षेत्रलाई सप्त गोदावरी मध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ ।
यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख छ ।