काठमाडाैँ । मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी गरेका छन् ।
काठमाडौँबाट शुक्रबार बिहान धनगढी पुगेको डा. रावलले विमानस्थलमा पत्रकारसँगको कुराकानीमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले यो अभियानमा काठमाडौँका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने बताए।
रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अहिले कुनै टिप्पणी नगर्ने बताए ।
उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरूसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने आफू त्यसमै लागेको बताए ।
रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे ।
रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाएका थिए । पत्रकार भेटघाटपछि रावल गृहजिल्ला अछामतर्फ प्रस्थान गरेका छन् ।
एमालेबाट निस्कासनमा परेपछि पुस १७ मा काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।
उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’ को नामबाट देशदौडाहा गरिरहेका छन् ।