काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ ।
केन्द्रले आज आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ लाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रुपमा मनाउँदै आएको छ ।
सम्मेलनको पहिलो दिन यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा अवसरबारे सरोकारवालासँगको अन्तरक्रिया गर्ने केन्द्रले जनाएको छ ।
दोस्रो दिन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारहरुको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धमा विकास साझेदारहरुसँग छलफल गर्ने केन्द्रले जनाएको छ।
सम्मेलनको तेस्रो दिन उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन आयोजना गरिनेछ ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अन्तिम दिनको कार्यक्रममा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तीव्रता दिनका लागि सरोकारवालाबीच अनुभव आदानप्रदान, लगानीको अवसरबारे अन्तरक्रिया एवं आवश्यक रणनीति तर्जुमाका लागि विभिन्न प्रस्तुति रहने जानकारी दिए ।
ढकालका अनुसार सम्मेलनमा तीन सय ५० भन्दा बढीको सहभागिता रहनेछ। यसका लागि १० वटाभन्दा बढी विभिन्न संस्थाहरूको सहयोग रहने केन्द्रको भनाइ छ ।