काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन सम्बन्धी नीतिका कारण विश्वभरबाट अमेरिका छिरेका आप्रवासीहरुको चेकजाँच सुरु भएको छ ।
पहिलो चरणमा अमेरिकाले अवैध रुपमा बसेका आप्रवासीलाई उनिहरुका देशमै फिर्ता पठाउने घोषणा गरेको छ । त्यसपछि सीपविहीन, दक्षताविहीन र निरक्षर आप्रवासीलाई फर्काउनेछ ।
आप्रवासीको सूची हेर्दा अमेरिकाबाट पहिलो चरणमा तीन हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता पठाउने तयारी छ ।
करीब ५० हजार नेपाली अवैध आप्रवासी रहेको प्रारभ्मिक अनुमान छ ।
तर, अवैध आप्रवासी निकालामा पर्ने भएपनि डिभी, ग्रिन कार्ड, विद्यार्थी भिसा, पर्यटक भिसा, व्यापारी भिसा, कामदार भिसा लगायत वैध रुपमा बसोबास गरेका आप्रवासी मानिसहरु ढुक्क हुन आप्रवासन स्पिकरले जानकारी गराएका छन् ।
बिहीबार इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्टले ५३३ जना गिरफ्तार गरेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उनीहरू अवैध आप्रवासी अपराधी भएको जनाएका छन् ।
यी नै मध्यका चार जना भेनेजुएला प्रिजन ग्याङसँग सम्बन्धित छन् । उनीहरू संदीघ्न आतङ्कवादी रहेको समेत जनाइएको छ ।
सबैभन्दा धेरै अवैध आप्रवासी इन्डियन रहेको प्रारम्भिक तथ्याकले देखाएको छ । इन्डियन अवैध आप्रवासीको संख्या करीब ६ लाख माथि रहेको अड्कल आप्रवासन संस्थाहरुले गरेका छन् ।
यो विषयमा जानकारी दिंदै इन्डियन विदेशमन्त्री एस जयशंकरले वाशिंगटन डीसीमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । यस क्रममा उनले विदेशमा अवैध रूपमा बसोबास गरिरहेका इन्डियन नागरिकहरूबारे इन्डियाको अडान स्पष्ट पारेका थिए ।
अमेरिका लगायत अन्य देशहरूमा अवैध ढंगले बसोबास गरिरहेका इन्डियन नागरिकहरूको न्यायसंगत फिर्तीका लागि इन्डिया तयार रहेको उनले बताए ।
यस मामिलामा इन्डियाको अडान दृढ र सिद्धान्तगत भएको र आफूले यो कुरा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोलाई स्पष्ट रूपमा भनेको पनि उनले बताए ।
आफ्ना कुनै नागरिक विदेशमा कानुनी रूपमा बसिरहेका छैनन् र ती व्यक्ति आफ्नै नागरिक हो भन्ने आफू विश्वस्त भएमा न्यायोचित रूपमा उसलाई इन्डिया फर्काउन आफूहरू सधैँ तयार रहेको र अमेरिकाको हकमा पनि स्थिति फरक नहुने जयशंकरले बताए ।
जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको रूपमा शपथ लिएका ट्रम्पले समय–समयमा अमेरिका आउने आप्रवासीहरूको विरुद्धमा कडा विचार व्यक्त गर्दै आएका छन् । गैरकानूनी रूपमा बसेर आपराधिक गतिविधिमा मुछिएका आप्रवासीहरूलाई ठुला परिमाणमा देश निकाला गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरिसकेका छन् ।
यसैगरि, अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले अवैध रुपमा बसोबास गर्दै आएका ३०८ जना आप्रवासीलाई पक्राउ गरिसकेको छ । द न्यूयोर्क पोस्टमा छापिएको समाचारअनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो कुराको खुलासा गरेका हुन् ।
पक्राउ देशका हरेक भागबाट गरिएको भनिएको छ । अवैध आप्रवासीहरूमध्ये धेरैजसो अपराधी भएको बताइएको छ । तीमध्ये केहीमाथि अपहरण, हत्या र बलात्कारको आरोप छ ।
अध्यागमन अधिकारीहरूले देशको लागि खतरा निम्त्याउने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका होमनले बुधबार भनेका थिए ।
अमेरिकामा यस्ता आप्रवासीको संख्या ७ करोड भन्दा बढी भएको बताइएको छ । बंगाली पत्रिका प्रथम आलोको रिपोर्ट अनुसार पहिलो दिन पक्राउ पर्नेहरूमा ४ जना बंगलादेशी नागरिक छन् । उनीहरूलाई न्यूयोर्कको ब्रुकलिन बरो फुल्टन क्षेत्रबाट पक्राउ गरिएको हो ।
अमेरिकामा अवैध आप्रवासीहरूलाई समात्न देशभरमा छापा हान्ने काम भइरहेका छन् । रिपोर्टका अनुसार अमेरिकाका धेरै राज्यहरूमा छापा मरिरहेको छ । त्यस्ता आप्रवासीहरूसँग व्यापक सोधपुछ भइरहेको भनिएको छ ।
राष्ट्रपति चुनाव जितेको केही दिनपछि नै ट्रम्पले अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) का पूर्व प्रमुख टम होमनलाई ‘सीमा जार’ नियुक्त गरेका थिए ।
ट्रम्पको शपथग्रहणको भोलिपल्ट उनले कागजात नभएका अवैध आप्रवासीहरूलाई पक्राउ गर्न व्यापक राष्ट्रव्यापी खोजी अभियान सुरु गर्ने होमनले गत हप्ता घोषणा गरेका थिए ।
यसमा अवैध आप्रवासीहरूको प्रवेश रोक्ने र सीमामा सुरक्षा कडा पार्ने जस्ता आदेशहरू पनि समावेश थिए ।
आफ्नो शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिकाबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने कुरा गरेका थिए । चाँडै अमेरिकी इतिहासको सबैभन्दा ठुलो निर्वासन अभियान सुरु हुने उनले बताएका थिए ।
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वमै सबैभन्दा धेरै आप्रवासीहरू छन् । विश्वका कुल आप्रवासीहरूको २० प्रतिशत अमेरिकामा बस्छन् । २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीहरूको कुल संख्या ४ करोड ७८ लाख थियो ।
पहिलो चरणमा १८ हजार इन्डियन अवैध आप्रवासीलाई उनिहरुको देश फर्काउने तयारी सुरु भइसकेको छ । अमेरिकामा हाल इन्डियन अवैध आप्रवासीको संख्या ६ लाख माथि रहेको विभिन्न सर्वेक्षणले देखाएको छ ।
समाचार स्रोतः अमेरिकी विभिन्न संचारमाध्यम