काठमाडौँ । नेपालको दक्षिणी छिमेकी मुलुक इन्डियाको नाम नेपाली जनताबीचमा भ्रम नहोस भन्ने हेतुका साथ राष्ट्रिय समाचार डटकमले हरेक सामग्री पस्कँदा ‘इन्डिया’ शब्द मात्र उल्लेख गर्ने निर्णय गरेको छ ।
नेपालका अधिकांश मिडियाहरु इन्डियालाई ‘भारत’ सम्बोधन गर्छन् । तर, राष्ट्रिय समाचार डटकम ‘भारत’ शब्दमा विमति राख्दै इन्डियाको असली नाम ‘इन्डिया’ नै रहेको स्पष्ट पार्न चाहन्छ । नेपाली भाषामा समाचार लेख्ने संचारमाध्यममा ‘राष्ट्रिय समाचार डटकम’ले पहिलो सुरुवात गरेर नेपाली जनतामाझ सही शब्द अभ्यासको थालनी गरेको हो ।
राष्ट्रिय समाचार डटकमले ‘इन्डिया’ शब्द लेख्न २०८१ असोज १६ गते बुधबारदेखि सुरुवात गरेको सबै नेपालीलाई अवगत गराउन चाहन्छ । इतिहासका पुस्तक, दस्तावेज र विभिन्न अभिलेखका आधारमा राष्ट्रिय समाचार डटकम इन्डियालाई ‘इन्डिया’ नै नाम सम्बोधन गर्दा न्यायोचित हुने निष्कर्षमा पुगेको हो ।
समाचार एजेन्सी वा इन्डियन मिडियाबाट साभार सामग्रीमा वाहेक हाम्रा हरेक सामग्रीमा ‘इन्डिया’ शब्द प्रयोग हुनेछन् । हामी सकेसम्म एजेन्सीका समाचारमा उल्लेखित शब्द परिवर्तनगरि ‘इन्डिया’ नै प्रयोग गर्नेछौं । हाम्रो समाचार सामग्रीमा त्यो देशको नाम ‘इन्डिया’ र त्यो मुलुकमा बस्ने नागरिकको पहिचान सम्बोधन ‘इन्डियन’ हुनेछ ।
इन्डियन प्रधानमन्त्री नरेन्द्र मोदीले दूई वर्षअघि (सन २०२३ जुन) मा ‘अखण्ड भारत’को नक्सा सार्वजनिक गरेर दक्षिण एसियाको भूगोलमा मनोवैज्ञानिक प्रभाव जमाउन थालेपछि इन्डिया भन्ने देशको नाम ‘इन्डिया’ नै हुनुपर्ने वहस छेडिएको छ । ‘इन्डिया’ नै इन्डियाको असली नाम रहेको राष्ट्रिय समाचार डटकम पूर्ण विश्वस्त छ ।
नेपालको भु–वनौट हिमालय पर्वत श्रृङ्खलामा अवस्थित छ । यही लमतन्न परेको भूभाग नै असली महाभारत पर्वत श्रृङ्खलाको पहिचान हो ।
खास महाभारतको उद्गमस्थल नेपालको हिमालय क्षेत्र रहेकोले ‘भारत’ वा ‘महाभारत’ वा ‘अखण्ड भारत’ भन्ने नाम कुनै एक देश विशेषको नाम हुनै नसक्नेमा राष्ट्रिय समाचार डटकम स्पष्ट छ ।
यो सम्बन्धमा हामीले नेपाल–इन्डियाका जानकार ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाललाई सोधेका थियौं । उनले इन्डियाको नामाकरणका विषयमा प्रष्ट पार्दै भनेका छन्,‘इन्डियामा सन २०१४ देखि ’भारतीय जनता पार्टी सत्तारूढ हुँदै आएपछि प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले देशको नाम ‘भारत’ राख्न मौखिक दबाब दिए पनि इन्डियाको संविधान (१९५०) अनुसार ‘इन्डिया’ नै यसको आधिकारिक नाम हो ।’
सन् १९४७ जुलाई १८ मा संयुक्त अधिराज्य ब्रिटेनको संसद्ले ’इन्डियन इन्डिपेन्डेन्स एक्टझ पारित गर्दा १९४७ अगस्त १५ मा इन्डिया बन्नेछ भनिएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष समेत रहेका नेपालले जानकारी दिए । ‘मैले पनि धेरै प्रमाणहरु बुझेर इन्डिया भन्दै लेख्दै आएको छु, नेपालले भने,‘ इन्डियाकै तथ्यले इन्डिया नै वैध राजनीतिक नाम हो भन्नेमा म स्पष्ट छु ।’
इन्डियन प्रधानमन्त्री मोदीले ‘भारत’लाई इन्डियाको पर्यायवाचीका रूपमा प्रयोग गर्नुका पछाडि पूरै भारतीय उपमहाद्वीप इन्डिया हो भन्ने गलत भाष्य निर्माण गर्ने बदनियत राख्नु रहेको नेपालले उल्लेख गरे ।
‘भारत धार्मिक–सांस्कृतिक नाम हो, भारतवर्ष भन्ने पदावलीमा हिन्दू सनातनी सभ्यताको व्यापक अर्थ ध्वनित हुन्छ जब कि इन्डिया भन्दा दक्षिण एसियाली क्षेत्रीय संगठनको एक सदस्य राष्ट्र भन्ने बुझिन्छ, त्यसैले इन्डिया शब्दकै प्रयोग गर्नु उपयुक्त हो । त्यहाँका जनतालाई पनि भारतीय नभनेर इन्डियाली भन्नुपर्ने नेपालको भनाई छ ।
‘राष्ट्रिय समाचार डटकम’ले नेपाली जनतामाझ छिमेकी देशका चिनारीलाई सही शब्द प्रयोग हुनुपर्नेमा जोड दिन चाहन्छ । दक्षिण एसियामा नेपाल बाहेक सबै देशले ‘इन्डिया’लाई इन्डिया नै सम्बोधन गर्छन् । तेस्रो मुलुकका शतप्रतिशत देशले त इन्डिया र इन्डिया देशका नागरिकलाई ‘इन्डियन’ मात्र उल्लेख गर्दै आएका छन् ।
तर, नेपालले मात्र इन्डियालाई भारत शब्द किन प्रयोग गरिरहेको छ, यसको ठोस प्रमाण अहिलेसम्म देखिएको छैन । इन्डिया ठुलो देश भएकोले नेपालीले पनि ‘भारत’ शब्द प्रयोग गर्दा सबै इन्डियाकै छत्रछाँयामा रहेको गलत अर्थ लागिरहेको छ ।
इन्डियन लेखक, इन्डियन संचारमाध्यम र इन्डियन इतिहासकारहरुले नेपालीले पनि भारत शब्द प्रयोग गरेका कारण उनिहरुका सामग्रीमा अपव्याख्या गरेको पाइन्छ ।
अतः राष्ट्रिय समाचार डटकम सबै नेपालीबीचमा इन्डियालाई ‘इन्डिया’ र इन्डिया देशका नागरिकलाई ‘इन्डियन’ शब्द प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिन चाहन्छ ।
राष्ट्रिय समाचार डटकम माग गर्दछ,‘नेपाल सरकारले आफ्ना आधिकारिक अभिलेखमा र वैधानिक रुपमा इन्डियालाई ‘इन्डिया’ नामबाट मात्र सम्बोधन गरोस ।’