काठमाडौँ । उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि अन्य नेपाली विद्यार्थीमाथि गरिएको ज्यादतीपूर्ण व्यवहार इन्डियाभित्रै आलोचनाको विषय बनेको छ।
विदेशी विद्यार्थीलाई होच्याउने, हेप्ने, ज्यादति गर्ने, गर्ल्समाथि अपराध बलत्कार गर्ने र धर्म जातका नाममा चरम विभेद गर्नेमा इन्डिया विश्वमा पहिलो नंवरमा पर्छ ।
फलस्वरुप इन्डियामा दुई दशकदेखि विदेशी विद्यार्थी खासै पढ्न जाँदैनन् । यही अवधिमा बिजेपी र अन्य कट्टर धार्मिक दलहरु शक्तिमा आएका थिए ।
दुई दशक पहिले इन्डियामा विदेशी विद्यार्थी पढ्न आउँथे ।
असुरक्षाका कारण विदेशी विद्यार्थी पढ्न आउनै छोडेको त्यहाँ स्थित विभिन्न स्रोतहरुले उल्लेख गरेका छन् ।
गोदी मिडिया इतर पक्षका मिडियाहरु हेर्यो, पढ्यो र सुन्यो भने मात्र तथ्यपरक खबरहरु थाहा पाइन्छ ।
नेपाली विद्यार्थी प्रकृति लम्सालमाथि भएको अपराधका विषयमा टाइम्स अफ इन्डियाले केही कुरा बाहिर ल्याएको छ । यस घटनामा मात्र नभएर अरू बेला पनि इन्डियामा नश्लीय विभेदका व्यवहार प्रकट हुने गरेको भन्दै टाइम्स अफ इन्डियाले इन्डियामा हुने विभेदबारे केही कुरा संकेत गरेको छ ।
इन्डियामा नश्लीय विभेद
शैक्षिक हब बन्ने र प्रतिवर्ष ५ लाख विद्यार्थी भित्र्याउने लक्ष्य राखेको भन्ने इन्डियाको विदेशी विद्यार्थीप्रति विभेद रवैयाबीच संगति नदेखिएको पनि टाइम्स अफ इन्डियाले औँल्याएको छ।
‘इन्डिया, आफैँलाई सिकाऊ’ शीर्षकमा उसले लेखेको छ इन्डियामा विभेद–
इन्डिया, उडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु दुखद छ र यो इन्डियालाई विकासशील देशहरूको लागि शैक्षिक केन्द्र बनाउन चाहने इन्डिया सरकारको लागि चेतावनी घण्टी हो।
केआईआईटीले एक इन्डियन विद्यार्थीविरुद्ध नेपाली विद्यार्थी प्रकृतिको उत्पीडनको गुनासोलाई बेवास्ता गरेको देखिन्छ। पछि अनुसन्धानबिना यसले उनको मृत्युलाई भावनात्मक चोटको परिणाम ठहर गर्यो। जब सयौँ अन्य नेपाली विद्यार्थीले विरोध गरे, तिनीहरूलाई कटक रेलवे स्टेसनमा पुर्याइयो र टाढै रहन भनियो।
एउटा भाइरल भिडिओमा केआईआईटीका दुई कर्मचारीहरू कराइरहेका सुनिन्छन्। उनीहरूले संस्थानको शिक्षण खर्च नै नेपालको बजेटभन्दा बढी छ भन्छन्। यस्तो अहंकार! यस तर्कअनुसार अमेरिकामा रहेका इन्डियनहरूले वालमार्टमा किनमेल गर्दा कृतज्ञ हुनुपर्छ, किनभने उक्त किराना साम्राज्यको आम्दानी इन्डियन सरकारको बजेटभन्दा बढी छ।
यो घटना कूटनीतिक मुद्दामा परिणत भयो। नेपालका प्रधानमन्त्री ओलीले यो विषय उठाए। नेपालमा रहेको इन्डियन दूतावासले आश्वासन दियो। ओडिसा सरकार तात्यो। केआईआईटीले माफी माग्यो। निष्कासित विद्यार्थीलाई फर्कन भन्यो। केआईआईटीले दुई उच्च अधिकारीहरूलाई ’सेवाबाट हटायो’ पनि।
सन् २०१३ मा एक विश्वव्यापी सर्वेक्षणले इन्डियालाई सबैभन्दा बढी नश्लीय विभेद गर्ने (रेसिस्ट) देशहरूमध्येको दाबी गर्दा धेरैले खिल्ली उडाएका थिए। तर, यहाँ जातीय दुव्र्यवहार भोगेका अफ्रिकाका विद्यार्थीहरूलाई सोध्नुहोस्। २०१४ को जनवरी रात जब दिल्लीका एक मन्त्रीले नाइजेरियालीलक्षित ’छापा’ हान्न लगाएका थिए, त्यो इन्डियाका लागि कहिल्यै नमेटिने दाग हो।
हाम्रो आफ्नै उत्तरपूर्वका मानिसहरूप्रतिको हाम्रो व्यवहार पनि राम्रो छैन। कोभिड महामारीमा उनीहरूलाई ’चिनियाँ’ भनेर कसरी कलंकित गरिएको थियो, सर्वेक्षणहरूले देखाएका छन्। अब यो मामला नेपालमा चर्किएको छ, जुन इन्डियामा विदेशी विद्यार्थीहरूको सबैभन्दा ठूलो स्रोत हो।
इन्डियामा सन् २०२१–२२ मा भर्ना भएका ४६ हजार ८७८ विदेशी विद्यार्थीमध्ये १३ हजार १२६ जना नेपाली थिए। ओलीले चीनप्रतिको झुकाव देखाइरहेका छन्।
इन्डियाले २०४७ सम्ममा प्रतिवर्ष ५ लाख विदेशी विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ। तर अहिले त्यो ५० हजारमा सीमित छ। जे गल्ती भयो, त्यसलाई स्वीकार गर्नु नयाँ सुरुवातको राम्रो तरिका हुनसक्छ।
टाइम्स अफ इन्डियाको यो लेखनले के सिद्ध गर्छ भने इन्डिया निकै असुरक्षित र विभेद हुने मुलुक हो । त्यस्तो मुलुकमा जानुभन्दाअघि दश पटक सोच्नुपर्छ ।