काठमाडौँ । प्रतिनिधि सभामा आज आइतबार शुरुमै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताएर गणतन्त्रवादीलाई तताइदिए ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको बताए ।
‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ लिङ्देनले भने, ‘तसर्थ मलाई जसले जति विरोध गरोस्, गणतन्त्र जसले लडेर ल्याएको होस या विदेशीको बुइ चढेर ल्याएको होस् विरोध गरिरहन्छु ।’
प्रत्युत्तरमा सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरूले पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा दिएको अभिव्यक्तिको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसदहरु भने आकस्मिक चुप लागेका थिए ।
तर माओवादी अध्यक्ष प्रचण्डले भने शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको चर्को विरोध गरेका थिए ।
प्रतिनिधि सभा बैठकमा मात्र होइन, राष्ट्रिय सभा बैठकमा समेत पूर्वराजा शाहको अभिव्यक्तिको विरोध भयो ।
प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद गोकुल बास्कोटा र माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलबिच कित्ता क्लियरको सांकेतिक घोचपेच चलेको दृश्य नै देखियो ।
सांसद बास्कोटाले प्रतिपक्ष माओवादी केन्द्रमाथि प्रश्नै गर्दै भने, ‘गणतन्त्रको विकल्प खोजेको हो ? के प्रमुख प्रतिपक्ष (माओवादी केन्द्र)ले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो?,’ बास्कोटाले माओवादीको मौनतामाथि प्रश्न गर्दै थप सोधे, ‘याद गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एकदुई तीन पाक्दैन, भ्रममा नरहनुहोला ।’
बैठकमा बोल्ने क्रममा बास्कोटालाई माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सांकेतिक रूपमै जवाफ फर्काए । ‘पूर्व वक्ता माननीयले माओवादीको कित्ता क्लियर होस् भन्नुभयो । क्लियरै छ । हामी हिजो जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएको हो’, पौडेलको भनाइ थियो ।
पूर्वराजाबारे बास्कोटालाई यस्तो जवाफ दिनुअघि पौडेलले सत्ता पक्षले माओवादी केन्द्रसँग सल्लाह नगरी नै संविधान संशोधनका कुरा गरेको भन्दै माओवादी विना संविधान संशोधन कुनै हालतमा नहुने जिकिर गरे ।
‘तपाईँहरूले सल्लाहै नगरीकन किन संविधान संशोधनको कुरा गरिरहनुभएको छ ? एक, दुई, तीन कुनै पनि हालतमा माओवादीको रोहवरबिना संविधान संशोधन किमार्थ सम्भव छैन,’पौडेलको जिकीर थियो ।
बैठकमा नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेले पनि पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरेको अभिव्यक्तिले समाजमा अराजकता फैलाएको भन्दै आपत्ति जनाइन् ।
‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरू छताछुल्ल भए’, सांसद न्यौपानेले बैठकमा भनिन्, ‘यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए । जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए विडम्बना उनैले संविधानको भावनाविपरीत लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको देख्दा २०६२/०६३ को जनआन्दोलन र गणतन्त्रका लागि मर्न तयार त्यो जनसागर झलझली सम्झिरहेको छु ।’ लोकतन्त्रमा बोल्न पाइने तर समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको न्यौपानेको भनाइ थियो ।
न्यौपाने बोलेपछि राप्रपाका ज्ञानेन्द्र शाहीले उस्तै चर्को स्वरमा बोलेका थिए ।
एमाले सांसद ईश्वरबहादुर रिजालले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश दिने क्रममा आफूले गरेको त्यागलाई कमजोरी नठान्न भनेर दलहरूलाई धम्क्याएको भन्दै जनताको मतलाई शाहले अन्यथा व्याख्या गरेकोमा आपत्ति जनाए ।
रिजालले राज्य शक्तिको स्रोत विष्णुको अवतारमा नपाइने भन्दै कवितात्मक शैलीमा राज्य शक्तिको स्रोत कहाँ हुन्छ भनेर शाहलाई ख्याल गर्न पनि आग्रह गरे ।
राष्ट्रिय सभामा पनि पूर्वराजाको चर्चा
आइतबारको राष्ट्रिय सभा बैठकमा सदस्य वामदेव गौतमले पूर्व राजाले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा आफूलाई पुनः राजा बनाउन गरिएको आग्रहप्रति आपत्ति जनाए ।
उनले प्रधानमन्त्री हुन मन भए प्रजातान्त्रिक ढंगले राजनीति गर्न सुझाव दिए । गौतमले नेपालमा राजाहरूको शासन राजाहरूले नै समाप्त गरेको भन्दै द्वैध शासन गर्नेहरू पनि नेपालका पूर्व राजाहरू नै रहेको स्मरण गराए ।
‘राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्’, गौतमले भने, ‘राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरूले स्वीकारेकै थिए ।’
राष्ट्रको मालिक भइसकेका नपाली जनतालाई रैती बनाएर शासन गर्ने ज्ञानेन्द्र शाहलाई जनआन्दोलनको माध्यमबाट गद्दीबाट नागरिकस्तरमा झारिदिएको गौतमको भनाइ छ ।
‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस्’, गौतमले भने, ‘निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’
तर ज्ञानेन्द्रले फेरि राजा बन्ने कोसिस गरे ग्रेट ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्ने गौतमको चेतावनी थियो ।
रास्वपाको फरक आवाज
प्रतिनिधि सभामा आइतबार रास्वपाका सांसदहरु तुलनात्मक रुपमा परिपक्वता देखिन्थे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) ले राज्यको उच्चतहमा पुगेका नेता तथा व्यक्तिहरूको सम्पत्ति छानविनका उच्चस्तरीय आयोग बनाउन आग्रह गरेका छन्।
अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको भन्दै राज्यको उच्च निकायमा सबैको सम्पत्ति छानविनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन आग्रह गरे।
उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानविनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन समेत सुझाव दिए। संसदबाट प्रश्न उठेपछि आफ्ना सभापतिमाथि छानबिन गर्न तयार भएको र अहिले कानुनी लडाइँ लडिरहेको भन्दै उनले सरकार र सदन समेत अन्य नेताको छानविनका लागि तयार हुनुपर्ने बताए।
त्यस्तै उनले पार्टीका संस्थापक सभापति रवि लामिछानेको नागरिकका विषयमा पनि सांसदहरूले प्रश्न उठाएको भन्दै पार्टी सभापतिको नागरिकता सांसदको घरमा नभइ आवश्यक पर्ने निकायमा उपलब्ध गराइने स्पष्ट पारे । सहकारी प्रकरणमा दुई दलको दम्भले नभइ नीति र विधिमार्फत छानविन हुनुपर्ने उनको भनाइ छ ।
आइतबार दुबै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) मा सांसदहरुबीच अधिकांश समय राजतन्त्र र गणतन्त्रका विषयमा नोकझोंक चलेको थियो ।