काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको वार्ता विनानिष्कर्ष सकिएको छ ।
नेपाली समय अनुसार, शुक्रबार मध्यरात (अमेरिकाको विहान ११ बजे) मा भएको वार्ता चर्काचर्की हुँदै सकिएको हो ।
अमेरिकासँग वार्ता गर्न जेलेन्स्की आफ्नो एउटा टोली लिएर विहान ह्वाइट हाउस पुगेका थिए ।औपचारिकता विनै वार्ता शुरु भएको थियो । सुरुमै उपराष्ट्रपति जेडी भान्स विवादमा उत्रिएको दृष्य विश्वभरका टेलिभिजनमा फैलिरहेको थियो ।
वार्तास्थलबाट ट्रम्प निकटका फक्स टेलिभिजन सहितका सीमित संचारमाध्यमले प्रत्यक्ष प्रशारण गरिरहेका थिए । भान्स बोलेपछि बीचबीचमा जेलेन्स्की बोल्न खोज्दा ट्रम्पले रोक्दै भने,‘तिमीले तेस्रो विश्वयुद्ध खोजिरहेका छौ ।’ फेरि, जेलेन्स्की भन्थे,‘क्रेमलिनसँग युक्रेन झुक्दैन, दबाब नदिनुहोला ।’
चर्काचर्की भएपछि वार्ता विनानिष्कर्ष टुंगिएको छ । ट्रम्प रुसप्रति नरम देखिएपछि जेलेन्स्की आक्रोषित देखिन्थे ।
वार्तामा अमेरिकाले युक्रेनमा रहेको खनिज पदार्थ लिने सम्बन्धमा जेलेन्स्कीले असहमति जनाएका थिए ।
ट्रम्प बारम्बार दोहोर्याउँदै भन्थे,‘रुससँग मिल्नुपर्छ र अमेरिकासँग सम्झौता गर्नुपर्छ ।’ त्यसपछि झन जेलेन्स्की एकाएक झस्किएर अमेरिकाले राखेको प्रस्तावलाई अस्वीकार गरेको दृष्य प्रत्यक्ष प्रशारणमा देखिन्थ्यो ।
वार्तास्थलबाट भइरहेको प्रशारण हेर्दा लाग्थ्यो, अमेरिका युक्रेनलाई पेलेरै रुसलाई खुशी बनाउन चाहन्थ्यो ।
जेलेन्स्कीले ट्रम्पलाई युद्धका क्षतिका एक एक तस्बिरहरु देखाउँदै यो नोक्सानप्रति युक्रेन कसैसँग सम्झौता गर्न नसक्ने बताइरहेका थिए ।
फेरि बिचमै रोकेर ट्रम्प भन्थे, युक्रेनी जनताप्रति मेरो सहानुभुति छ ।’
ट्रम्प र जेलेन्स्कीबीच भइरहेको वार्तामा उपराष्ट्रपति भान्स एकोहोरो बोलिरहन्थे । तर, जेलेन्स्कीले ट्रम्पतिर फर्किएर भनिरहेका हुन्थे,‘युक्रेनको स्वाभिमानका लागि सबै गुमाउन सक्दैनौं ।’
अन्ततः वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
ह्वाइट हाउसबाट निस्केर जेलेन्स्कीलेपछि सामाजिक संजालमा अर्को वार्तामा सकारात्मक हुन सक्ने प्रतिक्रिया जारी राखेका छन् ।
ट्रम्पले पनि वार्ता गर्न जेलेन्स्की जहिल्यै ह्वाइट हाउस आउन सक्ने संकेत गरेका छन् ।
यो वार्तालाई विश्वभर फरक फरक मतहरु बाहिर आएका छन् । कसैले अमेरिकाले युक्रेनलाई पेलेको भनेका थिए भने कतिले जेलेन्स्कीको तयारी कम रहेको वताइरहेका थिए ।
वार्तास्थल ह्वाइट हाउस भित्र जेलेन्स्की साधारण अनौपचारिक पोशाकमै पुगेका थिए ।