समाचार टिप्पणी
काठमाडौँ । सरकारले जनतालाई सोझै आँखामा छारो हाल्ने निर्णय हो, कुलमानको मुल्यांकन । उर्जा मन्त्री दीपक खड्काको दबाबमा ऊर्जा सचिव सुरेश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य (जीरो) नम्बर दिएर सरकार भ्रम छर्न कति निच छ भन्ने स्पष्ट हुन्छ ।
आज सोमबार जारी मुल्यांकन प्रतिवेदन अनुसार मन्त्रालयका सहसचिव जीबछ कुमार मण्डलले कुलमानलाई शून्य नंबर दिने रिपोर्ट तयार पारेका थिए । यो कार्यसम्पादन मुल्यांकन रिपोर्ट तयार गर्न २ महिना लागेको थियो ।
कुलमानलाई कार्य सम्पादन मुल्यांकनमा शून्य नंबर दिन उर्जामन्त्री खड्काको निर्देशन थियो । कुुलमानले ऊर्जा मन्त्रालयमा गत पुस २५ गते आफ्नो प्रतिवेदन बुझाएका थिए । कुलमानले उक्त प्रतिवेदनमा ९९ दशमलव ९९ प्रतिशत नंबर सहितको कार्य सम्पादन मुल्यांकन विवरण बुझाएका थिए ।
ऊर्जा सचिव आचार्यद्वारा हिजो (आइतबार) सहसचिव मण्डललाई कुलमानको कार्य सम्पादन मूल्यांकनमा पछाडिकै मिति राखी शून्य नम्बर दिई मन्त्रालयले आज सोमबार प्राधिकरणमा प्रतिवेदन बुझाएको थियो ।
जबकी कार्य सम्पादन मूल्यांकन मन्त्रालयका कुनै सहसचिव वा अधिकारीले गर्ने नै होइन । ऊर्जा मन्त्रालय र कार्यकारी निर्देशकबीच भएको कार्य सम्पादनसम्बन्धी सम्झौताको खण्ड ९ को ९.१ अनुसार कार्य सम्पादन मूल्यांकनका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय समितिले मूल्यांकन गर्ने भनिएको छ ।
जसमा निज सहसचिवसहित मन्त्रालयले नियुक्त गरेको विषय विज्ञ एकजना, मन्त्रालयकै कानुन महाशाखाको सहसचिव र मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव छन् ।
नियमानुसार कुलमानले आफ्नो कार्य सम्पादन मूल्यांकनको नम्बर दाबी गरेपछि मन्त्रालयको ऊर्जा महाशाखा (साविकको नीति महाशाखा) को सहसचिवको संयोृजकत्वमा त्यस्तो समितिले मात्र मूल्यांकन गरी नम्बर दिन पाउँछ ।
कुलमानलाई नेपाल सरकार मन्त्रिपरिषद्ले २०७८ साउन २५ गतेको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७(१) बमोजिम चार वर्षका लागि नियुक्त गरेको हो । उनको कार्यावधिमा कार्य सम्पादन मूल्यांकन हुने विधि ऊर्जा मन्त्रालय र कार्यकारी निर्देशक भएको सम्झौतनामा तोकिएको छ ।
यसअनुसार हरेक वर्षको साउनदेखि असारका लागि मूल्यांकन हुने गर्छ । गत असार अन्तिम साता सरकार परिवर्तन भई वर्तमान सरकार आएपछि घिसिङले आफ्नो कार्य सम्पादन मूल्यांकनका सहितको रिपोर्ट गत पुस २५ गते विवरण बुझाएका थिए ।
गत पुस २५ गते कुलमानले गत आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका थिए ।
कुलमानले पेश गरेको गत आर्थिक वर्षमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण बुझाएका थिए ।
मन्त्रिपरिषद्को २०७८ साउन २५ निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो।
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो।
ऊर्जा मन्त्रालयबाट आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा गरेको कार्यकारी निर्देशक घिसिङको कार्यसम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको प्राधिकरणले जनाएको छ।
कार्यसम्पादन सम्झौताको मूल्यांकनमा प्राप्तांकका आधारमा कुलमानले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ।
प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रूपैयाँ नाफा कमाएको थियो।
आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण २०७३/७४ मा १ अर्ब ५० करोड रूपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो।
त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रूपैयाँ सञ्चित नाफामा पुगेको छ।
प्राधिकरणले गत आर्थिक वर्षमा प्रणालीको विद्युत चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो। ८ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो। आर्थिक वर्ष २०७९/८०मा विद्युत चुहावट १३.४६ प्रतिशत थियो।
प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ। आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो। तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ।
प्रबन्ध निर्देशक घिसिङको नेतृत्वमा प्राधिकरणले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको प्राधिकरणको भनाइ छ।
देश लोडसेडिङमुक्त भएर नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्ताहरूलाई विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवम् प्रविधि मार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख छ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ’डबल ए प्लस’ रेटिङ पाइरहेको प्राधिकरणले जनाएको छ।
यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको उल्लेख छ।
गत आर्थिक वर्षको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत इन्डियातर्फ निर्यात गरी १७ अर्ब ७ करोड रूपैयाँ आम्दानी गरेको थियो।
गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको थियो।
पछिल्लो ६ महिनामै ११ अर्ब नाफामा
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ ।
प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी चालु आव साउनदेखि पुस मसान्तसम्म प्राधिकरण अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
२०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड नाफा आर्जन गरेको थियो ।
आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरण तर्फका आयोजनामा लगानी गरिरहेको छ ।
प्राधिकरणले चालु आव पहिलो ६ महिना विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ । त्यसका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ ।
इन्डियाबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् इन्डियातर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेट अन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।
कुलमान आउनुअघि नेपाल विद्युत प्राधिकरण नोक्सानमा थियो । त्यतिबेला नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो ।
कुलमानको नेतृत्वमा प्राधिकरण पुगेपछि सम्पूर्ण लोडसेडिङ अन्त्य भयो भने हरेक वर्ष नाफामा जान थाल्यो ।
यति ठुलो सूधार र प्रगति हुँदा पनि सरकार कुलमानलाई शून्य नंबर दिएर जनतालाई दिउँसै रात पारिरहेको छ । सरकारले पूर्वाग्रह राखिएको कार्य सम्पादन मुल्यांकन जारी गरेर आँफु नालायक भएको प्रमाणित गरेको छ ।
जनताले कुलमानलाई पूर्णाङ्क दिएका छन् । तर, सरकार शून्यको हतियार उपयोग गरेर आफ्नो नालायकपन सावित गरिरहेको छ ।