समाचार टिप्पणी
काठमाडौँ । पोखरा त्यस्तो पर्यटकीय स्थान हो, जहाँ तेस्रो मुलुकका पर्यटकहरु रमाउँछन् । नेपालका अन्य स्थानमा तेस्रो मुुलुकका पर्यटक घुमफिर गरेपनि कमै बस्ने गर्छन् ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार, तेस्रो मुलुकका पर्यटक बस्ने प्रमुख तीन स्थानमा क्रमशः पोखरा, काठमाडौँको ठमेल र चितवनको सौराहा हुन् ।
तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरेर उपत्यका बाहिर पोखरा, लुम्बिनी, चितवन, धुलिखेल लगायतका स्थानमा ठुलो लगानीका स्तरीय होटलहरु खुलेका छन् ।
हुन त सार्क देशका पर्यटक इन्डियन, श्रीलंकन, बंगलादेशी लगायतका पर्यटक पनि आउने गर्छन् । तर, तुलनात्मक रुपमा तेस्रो मुलुकका पर्यटक बस्ने, खाने र रमाउने नेपालमा खास स्थान छन् । ती मध्येको एक हो पोखरा ।
पोखरामै किन तेस्रो मुलुकका पर्यटक ढुक्कले बस्छन् त ? कारण हो, खुल्ला र सुरक्षित वातावरण । व्यवसायीले पर्यटकको त्यही रुचि अनुसार ठुलो लगानी गरेका छन् ।
तेस्रो मुलुकका पर्यटक नेपालमा आउने मुख्य मौसम असोज, कात्तिक मंसिर, फागुन, चैत र बैशाख हो । यही पर्यटक आउने मुख्य मौसममै उनिहरुलाई असर पार्ने गतिविधि भयो भने पर्यटन क्षेत्रको हालत के होला ? यो प्रश्नको जवाफ अहिले पोखराका पर्यटन व्यवसायीले खोजिरहेका छन् ।
कोटीहोम आयोजना गर्ने मानव सेवा फाउण्डेसनका प्रमुख विजय कृष्णमृर्ति उर्फ विजय भण्डारी चरम विवादित व्यक्ति हुन् । उनी माथि अनेक अपराधका श्रृँखलाहरु जोडिएका छन् । विजय भण्डारी कति विवादित ?
उनै विवादित व्यक्ति विजय भण्डारीले नेपालको पर्यटकीय क्षेत्र धमिल्याउनेगरि फेवाताल किनारमै किन होमहोमादी गर्न लागे शंका उत्पन्न भएको छ ।
नेपालको आर्थिक क्षेत्र ध्वस्त बनाउन पछिल्ला वर्षहरुमा इन्डियाको संस्थापन पक्ष (बिजेपी) र त्योसँग जोडिएको चरम हिन्दुवादी संगठन (आरएसएस) नेपालमा सक्रिय छ ।
तेस्रो मुलुकका आयोजना रोक्न इन्डियाले नेपालमा धर्मको अस्त्र प्रयोग गरिरहेको छ । यस्तो अस्त्र प्रयोग गर्न नेपालकै कथित धार्मिक व्यक्ति, अभियन्ता, कन्जरभेटिभ समुह र अतिवाद जत्थाहरु परिचालन गर्दै आएको छ ।
यस्ता चरम धार्मिक व्यक्तिहरुका दर्जनौं मुद्दाहरु अहिले अदालतमा विचाराधीन छन् । इन्डियन संस्थापन पक्षले नेपालको आर्थिक अवस्था कमजोर बनाएर चरम हिन्दुत्व लागु गर्नु प्रमुख उद्देस्य बनाएको देखिन्छ ।
पोखरामा हुने कोटीहोमबाट पर्यटकलाई ठुलो असर पर्ने देखिएको छ । पर्यटन व्यवसायी यो असरको खुलेर विरोध गर्न सकेका छैनन् । कारण हो, धार्मिक दबाब । यही फागुन १ गते उच्च अदालत पोखराले पनि कोटीहोम नरोक्न आदेश दिएसँगै व्यवसायीलाई झन धर्मसंकट परेको छ ।
पोखरा महानगरपालिका यो विषयमा खुलेर बोलेको छैन । यही मानव फाउण्डेसनले पोखराका चौतारा कटान गर्दा विरोध जनाएपनि अदालतको आदेशपछि महानगर मौन बसेको छ । सामाजिक संस्थाहरु तथा मिडिया हाउसहरु पनि यतिबेला चुपचाप छन् । यो मौनतालाई पर्यटन व्यवसायीले आश्चार्यको रुपमा हेरेका छन् ।
बहुसंख्यक पर्यटन व्यवसायीहरु फेवाताल किनारमा हुने कोटीहोमको विरोधमा छन् । तर, अधिकांश व्यवसायी कोटीहोम निकटका व्यक्तिबाट भयभित छन् । कोटीहोमको विरोध गर्नेलाई आयोजकले फोन गर्ने, दबाब दिने र तर्साउने भएकोले अहिले खुलेर बोल्न कोही सकिरहेका छैनन् ।
ती भनिरहेका छन्,हामी धर्मको विरोधी होइनौं, तर यो स्थान होम लगाउने ठाउँ होइन ।’
एकजना पर्यटन व्यवसायी नाम नलेखिदिने शर्तमा भन्छन्,‘कोटीहोममा ध्वनी प्रदुशण हुन्छ, धार्मिक गतिविधि हुन्छ, गोराहरु (तेस्रो मुलुकका पर्यटक) लाई त्यसले ठुलो असर पार्छ ।’ जुन स्थानमा कोटीहोम हुँदैछ, त्यो स्थान तेस्रो मुलुकका पर्यटकका लागि केन्द्रविन्दु हो, अनि कसरी सहन सकिन्छ ? उनले प्रश्न गरे ।
हिन्दु धार्मिकस्थलमा माछामासुको प्रयोग गरिंदैन । फेवाताल किनारमा तेस्रो मुलुकका पर्यटक ज्यादा विताउँछन् । यहाँ अत्यधिक माछामासुको प्रयोग गर्नुपर्छ ।
पर्यटकको इच्छा अनुसारको वातावरण, खाना, पोशाक र स्वतन्त्र घुमफिर हुने ठाउँ हो पोखरा । तर, अहिले यो पर्यटकको मुख्य आर्कषणको विशेषतालाई धर्मतिर जोडेर पर्यटन व्यवसायलाई दखल दिने प्रयास उदेक लाग्दो छ ।
केही व्यवसायलाई लागिरहेको छ, कोटीहोमले चहलपहल बढ्छ । तर, यो सोच भनेको एकैछिनको न्यानो मात्र हो । त्यसपछि लामो समय पर्यटन क्षेत्र चिसै हुनेछ । किनकी, कोटीहोममा आउने व्यक्ति मनोरञ्जनका लागि खर्च गर्न नभई भावना सृजना गर्ने हुन्छन् ।
पर्यटन व्यवसायको सफलता नै मनोरञ्जन, रमाईलो, शान्त र सुरक्षा हो । यसको लागि रकम खर्च हुन्छ । तर, धार्मिक संस्कारमा होटलको व्यापार हुँदैन । नोक्सान हुन्छ ।
पोखराको पर्यटन व्यवसायीलाई ध्वस्त बनाउने योजनाका साथ हुन लागेको कोटीहोमलाई लिएर होटल व्यवसायी भने चिन्तित देखिन्छन् । उनिहरुले महानगर, केन्द्र सरकार र प्रदेश सरकार मौन बसेकोमा आक्रोष पनि पोखेका छन् ।
कोटीहोमकै कारण दशकौंदेखिको पोखराको पर्यटन व्यवसाय खल्बलिने व्यवसायीहरुको निष्कर्ष छ ।
होटल एसोशियसन अफ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले राष्ट्रिय समाचार डटकमसँगको कुराकानीमा भन्छन्,,‘फेवातालको किनारमा कोटीहोम लगाउनै हुँदैन, पर्यटन व्यवसायीको यो होममा साथ हुने छैन ।’ अहिले पनि कोटीहोम गर्ने नगर्ने अनुमति अदालतमा विचाराधीन छ, न महानगरले अनुमति दिएको छ, त्यसैले हाम्रो समर्थन छैन, उनले भने ।
कोटीहोमले शान्त वातावरणमा घुम्न आउने पर्यटकलाई ठुलो असर पर्ने उनले बताए । भीडभाड, ध्वनी, धुँवा र धुलोले एकजना पर्यटक लेकसाइडमा बस्ने छैनन्, यो हाम्रा लागि दुर्भाग्य हुनेछ, सुवेदीले चिन्ता प्रकट गरे ।
हुन त सूरुमा पोखरा महानगर कोटीहोम रोक्न नलागेको होइन । तर, उच्च अदालतले कारण देखाउ आदेश दिएपछि अझै यो मुद्दा अदालतमा विचाराधीन रहेको छ ।
आयोजक संस्था मानव फाउण्डेसनले सूरुमा कोटीहोम ४५ दिन हुने भनेर सार्वजनिक गरेको थियो । तर, अहिले बढाएर तीन महिना पुर्याएको छ ।
यही चैत १ गतेदेखि जेठ ३० सम्म प्रमुख पर्यटकीय क्षेत्र फेवाकिनारमा हुने कोटीहोमले पर्यटन व्यवसायीले कति नोक्सान व्यहोर्नुपर्नेछ त्यो त, त्यो समयले नै देखाउनेछ । यो क्षेत्रमा १२ सय बढी स्तरीय ठुला होटल र रिसोर्टहरु रहेका छन् ।
तर, यति लामो समयसम्म प्रमुख पर्यटन क्षेत्रमा कोटीहोम लगाएर कहाँ कस्ले र किन नेपालको पर्यटन क्षेत्र ध्वस्त बनाउन षडयन्त्र गरिरहेको छ, भविस्यमा तथ्य सहित प्रमाणहरु पक्कै पनि बाहिर आउनेछन् ।