काठमाडौँ । केहीदिनदेखि मुलुकका विभिन्न स्थानमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउनुपर्ने माग राखेर प्रदर्शनहरु भएका छन् ।
राजतन्त्र पक्षधरहरुले ज्ञानेन्द्र शाहलाई सोझै राजगद्दीमा राखेर राजा घोषणा गर्नुपर्ने बताउँदै आएका छन् ।
यही फागुन ७ गतेदेखि ज्ञानेन्द्र शाह आँफै पनि देशका विभिन्न स्थान पुगेर जनतासँग साक्षात्कार गरिरहेका छन् ।
अहिले उनि पोखरामा छन् । भोलि आइतबार ज्ञानेन्द्र शाह काठमाडौँ फर्कने कार्यक्रम छ । शाहको स्वागतार्थ विभिन्न दलहरु, संस्था र समुहहरुले स्वागतका लागि ठुलो तयारी थालेका छन् ।
देशको पाँचौ ठुलो दल राप्रपाले पनि आफ्ना सबै कार्यक्रम स्थगन गर्दै ज्ञानेन्द्र शाहको स्वागतमा सहभागी हुन अपिल जारी गरेको छ ।
सरकारको तयारी
भोलि आइतबार हुने राजतन्त्र पुनःस्थापना पक्षधरहरूको भेलामा सरकारले करीब १० हजार मानिसहरु भेला हुने अनुमान गरेको छ ।
तर, आयोजक विभिन्न पार्टी, संघ/संस्था र समुहहरुले सहभागी संख्या ५० हजार माथि हुने दाबी गरेका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार, अधिकतम १० हजार मानिसहरु भेला हुन सक्ने आँकलन गरेको छ ।
राजतन्त्र पुनःस्थापना पक्षधरहरूको भेलालाई व्यवस्थित बनाउन गृह मन्त्रालयले आयोजकहरूसँग आज छलफल गरेको छ ।
पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।
तयारीका बारेमा जानकारी दिन र राजतन्त्र पुनस्थापना पक्षधरहरूको भेलालाई उत्तेजित हुन नदिन गृह मन्त्रालयले आयोजकहरूसँग समन्वयको कार्य गरेको छ । गृह स्रोतका अनुसार सरकार भेलालाई नियन्त्रण गर्न वा ठूलो बल प्रयोग गर्ने पक्षमा छैन।
गृहमन्त्री रमेश लेखक खुकुलो ढंगले नै पूर्व राजा पक्षदरहरूलाई सडकमा आउन दिनुपर्ने पक्षमा देखिएका छन्। पूर्व राजाको पक्षमा दिनदिनै जनमत बढ्दै गएपछि राजनीतिक रुपमा पनि उनीसँग संवाद अगाडि बढाउनुपर्ने आवाज सत्तारुट दल भित्रैबाट उठ्न थालेको छ।
राजतन्त्रको अन्त्यपछि पूर्व राजालाई राजनीतिक रुपमा निषेध र व्यवस्था गर्दै आएका दलहरू पहिलोपटक राजासँग संवाद गर्नुपर्ने र मध्यमार्गी बाटो अपनाउनुपर्ने मान्यतामा कांग्रेस एमाले भित्र आवाज उठ्न थालेको हो।
नेपालमा चलिरहेको राजतन्त्र पक्षधरहरुको आन्दोलनका बारेमा अन्तराष्ट्रिय मिडियाहरुले तीव्र प्रचार गरिरहेका छन् ।
कयौं विदेशी संचारमाध्यमले गणतन्त्र व्यवस्था कमजोर भएको र मोनार्की आउने संभावनाका विश्लेषणहरु सम्प्रेक्षण गरिहेका छन् ।
केही दिनदेखि देशका अधिकांश स्थानहरुमा राजतन्त्र ल्याउनुपर्ने भन्दै स्वतस्फुर्त जुलुशहरु निस्किरहेका छन् ।
देशमा छाएको बेथिती, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी र अर्कण्यमताका कारण जनतामा वर्तमान व्यवस्थाप्रति घृणा पैदा भइरहेको राजनीतिक विश्लेषकहरुले बताउँदै आएका छन् ।
फलस्वरुप जनतामा देखिएकोे नैराश्यताका कारण व्यवस्था बदल्न प्रतिक्रान्ति तर्फ उन्मुख भएको कतिपयको बुझाइ रहेको छ ।