अहिलेको इन्डिया पहिलेको जस्तो रहेन । कस्ले के खायो, के लगायो भन्ने चियोचर्चोले इन्डियाको समाज मात्र भय छैन, विश्वविद्यालयहरु भित्र चौपट सन्त्रास फैलिएको छ ।
बिजेपीको शक्ति, अतिवाद आरएसएसको पकड र अन्य धार्मिक कट्टरपन्थीको जगजगी चलेपछि अहिले इन्डियामा बिजनेस हाउसदेखि विद्यालयसम्म, समाजदेखि संसदसम्म परेसानमा छ ।
फरक विचार, फरक खानपान, फरक पोशाक र फरक जीवनशैली विताउन अहिले इन्डियामा मुस्किल छ । यसैलाई जोडेर कतिपय इन्डियन प्रगतिशील तथा आधुनिक लेखक पत्रकारले इन्डियन समाज अफगानिस्तानतिर दौडिएको तुलना गर्न थालेका छन् ।
अति धार्मिकपन्थीले गर्दा कसरी त्यो मुलुक असुरक्षित हुन्छ, हामी तपाईंलाई एउटा उदाहरण पेश गर्दै छौँ ।
यसै सन्दर्भमा हामीले इन्डियाकै एक स्वतन्त्र पत्रकारको विचार यहाँ राख्न गइरहेका छौँ ।
स्वतन्त्र पत्रकार निरुपमा सुव्रमण्यमको यो लेख–
इन्डियामा दैनिक रूपमा देखिने भोजन अर्थात् के खान पाइन्छ र के वर्जित छ भन्ने विवाद पछिल्लो दशकमा यति सामान्य भइसकेको छ कि अब यो सडकमा देखिने आक्रोशजत्तिकै साधारण लाग्छ ।
यस्ता घटना हल्का हिंसात्मक हुँदै घातकसम्म हुन्छन् । भोजनसम्बन्धी विवादले निम्त्याएका घटना अब सामान्य जीवनको हिस्सा बनेका छन् । यस्तो अवस्थामा भोजनसम्बन्धी विवाद शैक्षिक संस्थामा पनि पुग्नु आश्चर्य होइन ।
उदाहरणका लागि हालै दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयमा भएको घटनालाई लिन सकिन्छ, किनकि यो साधारण विश्वविद्यालय होइन ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतको अन्तरसरकारी सम्झौताद्वारा स्थापित यो संस्था क्षेत्रीय कूटनीतिक परियोजनाका रूपमा रहेको छ ।
यसको वेबसाइटमा उल्लिखित उद्देश्यमा क्षेत्रीय धारणा र चेतनाको विकास, स्वतन्त्र सोच भएका सक्षम नेतृत्वको नयाँ पुस्ता तयार गर्नु र विज्ञान, प्रविधि तथा जनजीवनको स्तर उकास्न आवश्यक अन्य विषयमा यस क्षेत्रको क्षमता वृद्धि गर्नु समावेश छ ।
यो घटना यही १४ फागुन, शिवरात्रिको दिनको थियो । दक्षिण एसियाली विश्वविद्यालयका केही हिन्दु विद्यार्थीले यो पर्व मनाइरहेका थिए ।
तिनले विश्वविद्यालयको क्यान्टिनमा दिइने मांसाहारी भोजनलाई ती विद्यार्थीको ‘सात्विक’ भोजनबाट पृथक् राखिनुपर्ने माग गरेका थिए । तर, त्यस्तो व्यवस्था गरिएन ।
यस विषयमा विवाद बढ्दै जाँदा एक ‘सात्विक’ भोजनको वकालत गर्ने विद्यार्थीले भोजन विभाजनको विरोध गरेका छात्रा प्रतिनिधिमाथि हातपात गरेको बताइछ । त्यसपछि आक्रमणको सिकार भएकी छात्राले प्रहरीमा उजुरी दिएपछि क्याम्पसमा प्रहरी आइपुगेको थियो ।
दक्षिण एसियाली विश्वविद्यालय इन्डियाका अन्य शिक्षण संस्थाजस्तै बनेको छ, प्राज्ञिक स्वतन्त्रता हनन हुँदै छ र निगरानी बढ्दो छ
उजुरी दिने विद्यार्थी इन्डियन भएकीले इन्डियाले छिमेकी देशका अभिभावकलाई यो घटनाबारे स्पष्टीकरण दिनुपर्ने कूटनीतिक झमेला टार्न सफल भयो ।
यो घटनाले ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको हालै भएको आत्महत्यापछिको संवेदनशील माहोललाई थप जटिल बनाउन सक्थ्यो ।
तथापि, दक्षिण एसियामा जनस्तरमा सम्बन्ध प्रबर्धन गर्ने विशेष स्थानका रूपमा रहेको यस संस्थामा भएको विवादले क्षेत्रीय रूपमा नकारात्मक छवि बनाएको छ ।
यो छवि त्यतिखेर बनेको छ, जब इन्डियाको छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो देखिँदैन । यस घटनाले दक्षिण एसियाली क्षेत्रमा भारत अब बहुसांस्कृतिक र बहुलवादी रहेन भन्ने धारणालाई थप बलियो बनाएको छ । त्यसैगरी, यस घटनाले इन्डियामा ‘सांस्कृतिक दक्षता’को अभावलाई पनि उजागर गर्छ ।
जुन सच्चा बहुसांस्कृतिक समाजको जीवन–कौशल हो । उदाहरणका लागि दक्षिणी गोलार्धमा इन्डोनेसियालाई सांस्कृतिक दक्षताको उच्च स्तर भएको देशका रूपमा लिइन्छ ।
पछिल्लो १५ वर्षमा दक्षिण एसियाली विश्वविद्यालयमा भएका घटनाले ‘समझदारी र क्षेत्रीय चेतनाको संस्कृति निर्माण’ र उदार तथा प्रबुद्ध नेतृत्व विकास गर्ने लक्ष्यबाट यो विश्वविद्यालय विमुख भइसकेको छ ।
यो विश्वविद्यालय अब इन्डियाका अन्य उच्च शिक्षण संस्थाजस्तै बनेको छ, जसले देशका सांस्कृतिक र राजनीतिक विवादलाई प्रतिबिम्बित गर्छ । अर्थात्, यसले इन्डियाका विश्वविद्यालयमा बढ्दो प्राज्ञिक स्वतन्त्रता एवं विद्यार्थी जीवनमाथिको निगरानी÷प्रतिबन्धलाई दोहोर्याउँछ ।
दक्षिण एसियाली विश्वविद्यालयको वर्तमान अवस्थाका लागि सार्कको निष्क्रियतालाई दोष दिन सजिलो छ । तर, यो विश्वविद्यालय ठुलो अपेक्षासाथ सुरु गरिएको थियो ।
सन् २००५ मा ढाकामा आयोजित १३औँ सार्क शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले यसको प्रस्ताव राखेका थिए, अर्को शिखर सम्मेलनमा दिल्लीमा यसलाई कार्यान्वयन गर्ने सम्झौता भयो ।
अन्ततः सन् २०१० मा यो विश्वविद्यालय सञ्चालनमा आयो । मुम्बईमा सन् २००८ मा भएको आतंककारी आक्रमणपछि इन्डिया–पाकिस्तान सम्बन्ध चिसिए पनि यो परियोजना रोकिएन ।
विश्वविद्यालयका लागि दिल्लीलाई स्वाभाविक ठाउँका रूपमा रोजियो, किनभने यहाँको समृद्ध शैक्षिक संस्कृति, सक्रिय विद्यार्थी समुदाय, ऐतिहासिक विविधता, सांस्कृतिक जीवन र बहुसांस्कृतिक चरित्र विशेष रूपमा उपयुक्त मानिएको थियो ।
साहसी प्रयोग भए पनि दक्षिण एसियाली विश्वविद्यालय बाहिरी प्रभावबाट बच्न सकेन । इन्डियासँग तनाव बढेसँगै सन् २०१६ पछि पाकिस्तानले आर्थिक सहायता रोक्यो र महामारी, श्रीलंकाको आर्थिक संकट तथा अफगानिस्तानमा तालिबानको नियन्त्रणका कारण श्रीलंका र अफगानिस्तानबाट पनि आर्थिक सहयोग बन्द भयो ।
अहिले विश्वविद्यालय लगभग पूर्ण रूपमा इन्डियाको विदेश मन्त्रालयको लगानीमा चलिरहेको छ । सन् २०२३ मा ६ वर्षपछि बसेको गभर्निङ बोर्डको बैठक यो जनवरीमा पुनः आयोजना भएको थियो ।
समयसँगै गैरइन्डियन विद्यार्थी र प्राध्यापकको संख्या घट्दै गएको छ । इन्डियाले अफगान र पाकिस्तानी विद्यार्थीलाई भिसा दिन बन्द गरेको छ । दिल्ली अब दक्षिण एसियाली युवाका लागि त्यति स्वागतयोग्य स्थान रहेन, जति सन् २००० को दशकमा थियो ।
पछाडि फर्केर हेर्दा भारतको आन्तरिक राजनीतिक एजेन्डाले विदेश नीतिमा असर पारेको अवस्थामा दक्षिण एसियाली विश्वविद्यालय कुनै अर्को क्षेत्रीय राजधानीमा रहेमा उपयुक्त हुन सक्थ्यो होला ।
इन्डिया अहिले विश्वविद्यालय र सार्क दुवैलाई कमजोर बनाउनमै सन्तुष्ट देखिन्छ । एकछिन कल्पना गरिहेरौँ, दिल्लीले आफ्ना आन्तरिक द्वन्द्व र सीमापारका शंकालाई पन्छाउन सक्थ्यो भने यसले विश्वविद्यालयलाई थप आर्थिक सहयोगबाट पुनर्जीवित गर्न सक्थ्यो र यस क्षेत्रका प्राध्यापक एवं युवालाई फर्कन आमन्त्रण गर्न सक्थ्यो ।
प्राध्यापक र विद्यार्थीलाई सिक्न र प्रश्न गर्न स्वतन्त्रता दिँदा संस्थाले फेरि प्रगति गर्न सक्थ्यो अर्थात् यसले दक्षिण एसियाली विश्वविद्यालयलाई यसको मौलिक उदार उद्देश्यअनुसार फल्न–फुल्न अवसर दिन्थ्यो ।
’छिमेकी पहिला’ नारा सुरक्षासँग सम्बन्धित मात्र नभई इन्डियाका लागि मन जित्ने माध्यम बन्न सक्थ्यो, न कि विशेष लाभ लिने मित्रका लागि अवसर मात्रै बन्ने माध्यम हुन्थ्यो ।
(सुब्रमण्यम स्वतन्त्र पत्रकार हुन् । हामीले यो लेख डेक्कन हेराल्ड बाट साभार गरेका हौँ ।)