काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी संगठनलाई नागरिकमैत्री बनाउने घोषणा गरेका छन् । थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताए ।
गृह मन्त्रालयमा आज मंगलबार दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रहरी संगठनलाई नागरिकमैत्री बनाउन सहयोग पाइराख्ने उनले विश्वास व्यक्त गरे । पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने उनले बताए ।
कार्यक्षमताको उचित मूल्याङ्कन गरेर वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै पीडा भोग्न नपर्ने गरी काम गर्ने उल्लेख गर्दै थापाले भने, ‘पदोन्नति हुनेबेला प्रहरी कर्मचारीले पीडा नपरोस् भन्नेमा विश्वास दिलाउन चाहन्छु ।’
प्रहरीमा २९ वर्ष ६ महिना सेवा गरेपछि प्राप्त उच्च पद आफ्नो लागी केवल गौरवको मात्र नभएर गम्भीर जिम्मेवारी बोध भएको बताए । उनले भने, ‘प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्नेछु ।’
समाजको आवश्यकताको उपज प्रहरी भएको उल्लेख गर्दै थापाले सङ्गठनभित्रको कमजोरी लुकाएर सुधार नहुने बताएका छन् ।
प्रहरीमा सुधारको लागी साइत नहेर्ने उद्घोष गर्दै उनले भने,‘सुधारको प्रारम्भ आफूबाटै गर्नेछु ।’
थापाले पाए दर्ज्यानी चिन्ह
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) थापाले दर्ज्यानी चिन्ह पाएका छन्।
मंगलबार बिहान गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले आइजिपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
बसन्तबहादुर कुँवरले सोमबार मध्यरातिदेखि अवकासमा गएका छन्। उनी अवकासमा जाने भएसँगै सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई आइजिपी नियुक्त गरेको हो।
आइजिपी भएका थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।
उनी २०६३ भदौ ८ मा डिएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ गते एसएसपी र २०७९ असार १७ गते डिआइजी भएका थिए।
उनी २०७९ चैत ६ गते एआइजीमा बढुवा भएका थिए।