काठमाडौँ । सरकारले आफ्नो देशमा प्रयोगकर्ताको परिमाण बिर्सेर सम्बन्धित सामाजिक संजाल कम्पनीलाई सूचीकरणको घुर्की देखाउँदै हदम्याद तोकिदिएको छ ।
प्रयोगकर्ता, व्यापारको दायरा र यसको प्रभावको हिसाबले नेपालमा यी प्लेटफर्म बन्द हुँदा सम्बन्धित संजाल कम्पनीलाई कुनै असर नपर्ने अधिकारीहरुले बताएका छन् ।
(फेसबुक, एक्स ) यी संजाल बन्द भएमा सम्बन्धित कम्पनीलाई नभई नेपाल स्वयंलाई असर पर्ने ती अधिकारीहरुको दाबी रहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मेटा, एक्सलगायतलाई एक महिनाभित्र सूचीकरण हुन भनेपछि नेपाली प्रयोगकर्तामा चिन्ता छाएको छ ।
हालसम्म ३ वटा कम्पनी मात्रै सूचीकरण भएको उल्लेख गर्दै मन्त्रालयले ती कम्पनीलाई १ महिनाभित्र नेपालमा सूचीकरण हुन सूचना जारी गरेको हो।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सूचीकरण हुनुपर्ने उल्लेख छ।
सूचीकरण हुने कम्पनीले कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने हुन्छ।
निर्देशिकाअनुसार हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रालि सूचीकरण भई सञ्चालनमा छन्।
‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखितबाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क विन्दु आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा ७ बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी दिएको छ।
नेपाल सरकार बन्द चाहन्छ !
नेपाल सरकारले यो अध्ययन गरेन कि नेपाल जतिकै जनसंख्या र प्रयोगकर्ता भएका अन्य मुलुकहरुमा फेसबुक र एक्सले कुनै कार्यालय राखेका छैनन् ।
न ती देशहरुमा कुनै अनुगमन टोली नै यी संजालका कम्पनीले खटाएका छन् । नेपालमा त अहिलेसम्म फेसबुक पेजको मोनिटाइज अधिकार पनि दिइएको छैन ।
किनकी, यी ठुला सामाजिक संजाल प्लेटफर्मले नेपाललाई त्यो प्राथमिकतामै राखेका छैनन् । एसियामा जापान, चीन, इन्डिया, कोरिया देशहरुमा मात्र यी कम्पनीले कार्यालय राखेका छन् ।
नेपाल सरहका विश्वका एक तिहाई मुलुकहरुमा फेसबुक, एक्सले कुनै कार्यालय र अनुगमन गर्ने टोली नै राखेका रेकर्डमा उल्लेख छैन ।
नेपाल सरकारले नेपाल भित्र फेसबुक एक्स बन्द गर्यो भने सम्बन्धित कम्पनीलाई कुनै असर पर्देन । असर पर्ने भनेको स्वयं नेपाली जनता र नेपाल भित्रकै प्रयोगकर्तालाई हो ।
सरकारले सोचेको छ कि, टिकटकलाई त अनुगमनको दायरामा ल्याईयो । तर, टिकटक र फेसबुक एक्समा धेरै अन्तर छ भन्ने सरकारका अधिकारीले बुझ्नै सकेनन् वा बुझेनन् ।
टिकटक चीनको उत्पादन भएकोले उसले छिमेकी मुलुकमा बन्द नहोस भन्नेमा संवेदनशील बनेको हो । तर, फेसबुक र एक्सलाई यसको कुनै सरोकार नै छैन ।
यी अमेरिकी कम्पनीले नेपाल जस्ता मुलुकलाई कुनै प्राथमिकतामै राखेका छैनन् । त्यसैले त अहिले पनि नेपाल भित्र मोनिटाइज हुने, आम्दानी हुने स्रोतको सुविधा छैन ।
विश्वमा फेसबुक, एक्सका कार्यालय नभएका देशहरुमा सम्बन्धित देशकै सरकारले साईबर अनुगमन संयन्त्र बनाएर काम गरिरहेका हुन्छन् ।
नेपाल सानो देशले ठुलो घुर्की लगाउँदा नोक्सान ठुलो देशलाई हुँदैन । नोक्सान हुने भनेको नेपाली जनता र नेपालको आफ्नै साख गिर्ने हो । नेपाल सरकारका अधिकारीहरुले अझै बेलैमा यो चेतुन ।