काठमाडौँ । इन्डियाको उत्तर प्रदेश राज्यस्थित हाथरस प्रहरीले शृंखलाबद्ध बलात्कार आरोपमा एक प्राध्यापकलाई पक्राउ गरेको छ।
हाथरसको एक डिग्री कलेजमा भूगोल विभागका प्राध्यापक रजनीश कुमारलाई प्रहरीले मार्च १९ मा प्रयागराजबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले छात्राहरूसँग शारीरिक सम्बन्ध राखेर उत्पीडन गरेको स्वीकार गरेका छन्।
प्रोफेसर रजनीश कुमारले धेरै वर्षदेखि छात्रा र महिलाहरूलाई ब्ल्याकमेल गरिरहेको पाइएको हाथरस प्रहरीले जनाएको छ।
उनले गोप्य क्यामेरा प्रयोग गरेर छात्राहरूको भिडिओ बनाई यौन शोषण गरेको आरोप छ।
राज्य महिला आयोगबाट एउटा बेनामे पत्र प्राप्त भएपछि अनुसन्धान सुरु गर्दा यो कुरा खुलासा भएको हो।
प्रदेश महिला आयोगकी उपाध्यक्ष अपर्णा यादवले सञ्चारकर्मीलाई भनिन्, ‘केही दिनअघि महिला आयोगमा एउटा मुद्दा आएको थियो। मैले तत्काल कारबाही गर्न आदेश दिएको थिएँ। अब प्रहरीले उनलाई पक्राउ गरेको छ, यो खुसीको कुरा हो।’
हाथरसका प्रहरी अधीक्षक चिरञ्जीव नाथ सिन्हाले मार्च १३ मा एउटा पत्र र एउटा सीडी प्राप्त भएको र यसको अनुसन्धान गर्दा वास्तविकता पत्ता लागेको बताए।
इन्डियाको क्राम ब्रान्चको रिपोर्ट अनुसार, उत्तर प्रदेश, बिहार, झारखण्ड र मध्यप्रदेशमा अत्यधिक महिला हिंसा, बलत्कार र घरेलु हिंसा हुने गर्छन् ।
एजेन्सी