गाजा । इजरायल लगातार गरेको आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ ।
इजरायली सेनाको आक्रमणबाट अहिलेसम्म ५० हजार बढी मारिएका छन् । मारिनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । मध्यपूर्वमा भएको यो सबैभन्दा ठुलो नरसंहार हो ।
बिबिसीका अनुसार, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको रेकर्डमा इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। मन्त्रालयले गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।
यो युद्ध अघि गाजाको २३ लाख जनसंख्याको लगभग २.१ प्रतिशत हो । वा प्रत्येक ४६ जनामा १ जनाले मृत्यूवरण गरिरहेका छन् ।
आक्रमणका कारण हजारौँ घरहरु, सार्वजनिक संस्थान, मनोरञ्जनस्थल, स्कुल, कलेज, पार्कहरु ध्वस्त भएका छन् ।
मध्यपूर्वमा भइरहेको यो नरसंहार यस शताब्दीकै भयानक मृत्युको योग हो । मन्त्रालयका अनुसार युद्धमा हालसम्म १ लाख १३ हजार २७४ जना घाइते भएका छन्।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई विश्वसनीय मानिन्छ र संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्थाहरूले यसलाई प्रयोग गर्छन्। तर इजरायलले गाजा प्रशासनले जारी गरेको तथ्याङ्कलाई निरन्तर अस्वीकार गर्दै आएको छ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले नोभेम्बरमा विगत छ महिनामा मारिएकामध्ये लगभग ७० प्रतिशत महिला र बालबालिका रहेको बताइसकेको छ ।
इजरायलको यो नरसंहारलाई विश्वभरबाट तीव्र विरोध हुँदा अमेरिका र इन्डिया जस्ता मुलुकहरु भने मौन समर्थनमा रहेका छन् ।
एजेन्सी