काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध सुरु भएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, डिला संग्रौला लगायतले आफ्ना सामाजिक संजालमा लेखेर कडा विरोध जनाएका छन् ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतले सरकारको विरोध गर्दै नालायकको संज्ञा दिएका छन् ।
प्रचण्डले भनेका छन्,‘कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’
त्यस्तै, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पनि असन्तुष्टि व्यक्त गरेका छन् । थापाले सरकारले उल्टो बाटो हिँडेको टिप्पणी गरे । मन्त्रीले बाटो बिगारे प्रधानमन्त्रीले सम्हाल्नुपर्नेमा यहाँ प्रधानमन्त्रीले नै अनुमोदन गरिदिनु गलत भएको उनको भनाइ छ । सरकारका कामका बारेमा असन्तुष्टि सलबलाइरहेको र त्यसलाई सम्बोधन गर्नुपर्नेमा सरकारले आगोमा घिउ हालेको थापको भनाइ छ ।
‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो..तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’, थापाले लेखेका छन् ।
त्यस्तै, महामन्त्री शर्माले भने सरकारले कुलमानलाई हटाउने निर्णय समयोचित नभएको भन्दै विमति प्रकट गरेका छन् ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणबाट कुलमानलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले साङ्केतिक विरोध गरेका छन् ।
लाइभमा आएर उनले केही बोलेनन् । बरु उनले साङ्केतिक विरोधस्वरुप बत्ती निभाएर मैनबत्ती बाले । उनले लाइभको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !’
उनले कुलमान घिसिङलाई हटाइएसँगै लोडसेडिङ हुनसक्ने तर्फ संकेत गर्दै बत्ती निभाएको बुझ्न सकिन्छ । कुलमानकै नेतृत्वमा देश लोडसेडिङमुक्त भएको थियो ।
लामिछाने गत अक्टोबर १८ यता फेसबुकमा सक्रिय थिएनन् । अक्टोबर १८ पछि उनी पहिलो पटक फेसबुकमा आएका हुन्, त्यो पनि नबोलीकन, साङ्केतिक विरोधको रूपमा ।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पनि सरकारको यो निर्णयप्रति कडा विरोध जनाएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अब देश पुनः ऊर्जा संकट हुन सक्ने जोखिम बढेको भन्दै सरकारको कदमको विरोध गरे ।
कलाकारहरु मनोज गजुरेल, केदार घिमिरे, लेखक अनुप भट्टराई लगायतले सरकारको निर्णयको विरोध जनाएका छन् ।