काठमाडौँ । सरकारले गलत मनसाय राखेर बर्खास्त गरेको विरुद्ध कुलमान घिसिङले सर्बोच्च अदालतमा रिट पेश गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेपछि कुलमानले आज बुधबार रिट हालेका हुन् ।
यो रिटलाई अगाडी बढाउने प्रक्रिया बिहीबार नै सुरु हुने सर्बोच्च अदालत मुद्दा शाखाले जनाएको छ ।
रिट अगाडी बढेपछि सरकार विरुद्ध कुलमानको पुर्नबहाली गर्नुपर्ने मुद्दा दर्ता हुनेछ ।
सरकारले यही सोमबार पूर्वाग्रह राखेर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो ।
सरकारले कुलमानको स्थानमा केपी ओलीका नजिकका नातेदार पर्ने हितेन्द्रदेव शाक्यलाई ल्याएको छ । हितेन्द्रदेव पहिले पनि विद्युतका कार्यकारी निर्देशक बनिसकेका व्यक्ति हुन् । यिनैले नेपालमा सुरु गरेको १८ घण्टाको लोडसेडिङ कुलमानले हटाएका थिए ।
रिटमा कुलमानले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।
कुलमानले लोडसेडिङ हटाएर जनताको घरघरमा उज्यालो छरेपछि एमाले अध्यक्ष ओली सुरुबाट रुष्ट हुँदै आएका थिए ।
नेपालमा पहिलो पटक लोडसेडिङ हटाएर उज्यालो नायक कहलिएका कुलमानप्रति केपी ओली सरकार सुरुदेखि नै नकारात्मक हुँदै आएको थियो ।
कुलमान बर्खास्तीमा परेपछि अहिले देशभर विभिन्न राजनीतिक दलहरु, संघ संस्था, अभियन्ता, सामाजिक व्यक्तिहरु र नागरिक समाज आन्दोलनमा उत्रिएको छ ।
कुलमानलाई अन्यायपूर्वक बर्खास्त गरेको विरोधमा बुधबार प्रतिनिधि सभा र राष्टिय सभा चल्न सकेनन् । सत्तारुढ बाहेक सबै दलहरुले सरकारको चर्को विरोध गरेका थिए ।
ओली सरकार विरुद्धका विभिन्न शक्तिहरु कुलमानलाई पुर्नबहाली नगरेसम्म आन्दोलन र प्रदर्शन जारी रहने बताएका छन् ।